कोरोना कहरमा सेवाग्राहीलाई गुन लगाउदै इलाम अस्पताल
इलाम । फाकफोकथुम गाउँपालिका– ६ का लक्ष्मण राई कोभिड संक्रमित भई निको भएर अहिले आफ्नो दैनिकीमा फर्किनु भएको छ । घर फर्कदै गर्दा उहाँले सुनाउनु भयो ‘अस्पतालमा यती राम्रो व्यवहार पनि पाइन्छ भन्ने सोचेको थिइन, सोचेभन्दा राम्रो सेवा पाए ।’
कोभिड संक्रमित भएपछि हिँड्डुल गर्न र बोल्न नसक्ने अवस्थामा इलाम अस्पताल भर्ना भएर १२ दिनपछि उहाँ घर फर्किनु भएको हो । अस्पतालको शय्यामा रहदा डाक्टर र नर्र्सहरुले कोभिड विरामीलाई गरेको व्यवहारले राई मात्रै हैन अरु विरामीले पनि सन्तुष्टी व्यक्त गरे ।
दिनरात नभनी नर्सहरुले २४ सै घण्टा र आवश्यक पर्दा डाक्टरहरु खटिएकोले आफुलाई सहज भएको संक्रमितहरु बताउछन् ।
कोभिड १९ को दोस्रो लहरको संक्रमण दर बढेपछि इलाम अस्पतालमा दुई शय्या रहेको इन्टेन्सिभ केयर युनिट (आइसियु )सेवालाई हाई डिपेन्डेन्सी युनिट (एचडियु) वार्ड बनाएर सेवा संचालनमा ल्याइयो । गत जेठको पहिलो सातादेखि यो सेवा संचालन गरिएको थियो । सिमित जनशक्तिको भरमा अस्पतालले हिम्मत गरेर सुरु गरेको एचडियु सेवा सफल भएको अस्पताल प्रशासनले जनाएको छ । जनशक्ति र उपकरणहरुको अभावमा एचडियु संचालन गर्न चुनौती पुर्ण भएपनि सेवा दिन सफल भएको अस्पतालका कोभिड फोकल पर्सन विश्रुत सापकोटाले बताउनु भयो ।
अस्पतालमा कोरोना संक्रमणको चाप बढेको बेलामा उपकरणहरुको अभावमा रेफर गर्नु परेको डा. सापकोटाले बताउनुभयो । इलाम अस्पतालमा कोरोना संक्रमित ६९ जनाले सेवा लिएका छन् । जसमध्ये, कोरोना भाइरसको संक्रमण भएका निकै जटिल विरामी २१ जनाले एचडियु वार्डमा सेवा लिए । अस्पताल व्यवस्थापक क्षितिज खतिवडाका अनुसार २१ जना मध्ये ११ जनालाई अस्पतालले रेफर ग¥यो भने ३ जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।
अन्य ७ जना कोेभिड संक्रमित निको भएर घर फर्किएका थिए । अन्यको जेनेरल कोभिड अस्पतालमा उपचार भएको थियो । कोभिड संक्रमित सामान्य अवस्था भएकालाई अस्पतालमै उपचार गरियो भने जटिल समस्या भएकालाई अन्य अस्पतालमा समन्वय गरी रेफर गरेको जनाइएको छ । खतिवडाले भन्नुभयो ‘यहाँ उपचार सम्भव नभएकालाई अन्य अस्पताल पठाउन समन्वय ग¥यौ ।’
कोभिड संक्रमण दर बढ्दै गएपछि सुरुको चरणमा अस्पतालले निकै समस्या झेलेको थियो । पछि उपकरण र स्वास्थ्य सामग्री स्थानीय प्रदेश र संघीय सरकारमार्फत् उपलब्ध भएपछि उपचार सहज बन्दै गएको खतिवडाले जानकारी दिनुुभयो । इलाम नगरपालिकाले करीब एक महिना सम्म आफ्ना ३ जना नर्सहरुलाई अस्पतालको प्रसुती कक्षमा पठाएको थियो । ‘इलाम नगरपालिकामा नै रहेको यस अस्पतालको प्रसुती सेवा बन्द गर्नुपर्र्ने अवस्था आइसकेपछि नगरले जनशक्ति उपलब्ध गराएको थियो’ खतिवडाले भन्नुभयो ।
जोखिम मोलेर प्रसुती सेवा
इलाम अस्पतालमा कोभिड संक्रमित एक जना महिलाको सफल शल्यक्रिया गरी प्रसुती गराइएको थियो । इलाम नगरपालिका – ११ की २१ वर्षीया बबिता राईको शल्यक्रिया गरिएको थियो । कोभिड संक्रमण भएपनि उहाँको अवस्था सामान्य रहेको र खासै लक्षण देखिएको थिएन । कोभिड संक्रमण भएर आफ्नै ठाउँमा रहेको अस्पतालमा शल्यक्रिया सहितको सेवा पाएकोमा राई खुशी व्यक्त गर्नुहुन्छ ।
डाक्टरको उपचार सेवा र परामर्श राम्रो लागेको राईको भनाई छ । उहाँले भन्नुभयो ‘नर्स र डाक्टरहरुले माया गरेर उपचार सेवा दिनु भयो, बेलाबेला परामर्श दिदै हौसला प्रदान गर्नु भयो ।’ कोभिड संक्रमणको जोखिम बढिरहेका बेला प्रसुती सेवा लिन जिल्ला बाहिर घरबाट टाढा जान परेको भए समस्या हुने भन्दै इलाम अस्पतालमा सेवा पाउदा परिवारलाई सहज भएको राईले बताउनुभयो ।
इलाममा कोरोना संक्रमण दर उच्च रहेकै बेला ८० बढीले प्रसुती सेवा लिएका छन् । जसमध्ये ३१ जनाको शल्यक्रियाा गरी प्रसुती गराइएको अस्पतालले जनाएको छ । देशभर कोरोना संक्रमण बढ्दै गएपछि कोरोनाको उपचारमा स्वास्थ्य संस्थाहरु केन्द्रित भएपछि प्रसुती लगायत अन्य विरामीहरुले सेवा पाउन समस्या भइरहेको थियो । जिल्लामा सम्भव हुने प्रसुती सेवा इलाम अस्पतालमा पाउदा धेरैलाई सहज भएको सेवा लिएकाहरु बताउँछन ।
संक्रमितको संख्या बढ्दो क्रममा हुदाँ पनि अन्य कतिपय अस्पतालमा ओपिडी सेवा बन्द भएको तर इलाम अस्पतालमा ओपिडी सेवा भने बन्द गरिएको छैन । दुईवटा एचडियु शय्या सहित ४२ शय्यामा राखेर कोभिडका विरामीलाई उपचार गरिएकोे छ ।
अभावकाबीच सेवा
अस्पतालमा जनशक्ति अभावकै कारण कतिपय उपकरण प्राप्त भए पनि प्रयोगविहीन भएका छन् । अस्पतालमा विषेशज्ञ सहित १४ चिकित्सकको दरबन्दी छ तर अहिले स्त्रीरोग विशेषज्ञ एक जना मात्र डाक्टर छन् । अस्पतालका लागि आवश्यक दरबन्दी ५९ जना हो तर स्थायी कर्मचारी २९ जना मात्र छन् । अस्पतालमा चार जना मेडिकल अधिकृतको दरबन्दी भएपनि अहिले २ जना मेडिकल अधिकृत छात्रवृत्ति करारमा कार्यरत छन् ।
अस्पतालमा ९ जना विशेषज्ञको दरबन्दी भएपनि ३ जना मात्र कार्यरत रहेका छन् । ३ जना मध्ये २ जना छात्रवृति करारमा कार्यरत छन् ्भने एकजना स्थायी मेसुको रुपमा कार्यरत गाइनोक्लोजिस्ट छन् ।
इलाम अस्पतालमा आइसियु भेन्टिलेटर सहित विशेषज्ञ डाक्टरको सुविधा नहुँदा इलामबासीले पटक पटक आवाज उठाउने गरेका छन् । कोरोना कहरका बेला समेत जनस्तरबाट आवाज उठे । भएको उपकरण प्रयोग हुन नसकेको भन्दै नागरिकले गुनासो गरिरहेका छन् ।
इलाम अस्पताललाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुले स्वास्थ्य साम्रगी सहयोग गरे । देश विदेशमा रहेका इलामेलीहरुले गृह जिल्लामा कोभिड संक्रमण बढ्दै गएपछि उपचारमा सघाउ पुर्याउन दिल खोलेर सहयोग गरे । उनीहरुले अक्सिजन सिलिन्डर, वेड, अक्सिजन कन्सन्ट्रेटर लगायत सामग्री र उपकरण इलाम अस्पताललाई उपलब्ध गराएका छन् ।
प्रदेश, स्थानीय र संघीय सरकार मार्फत् अस्पताललाई स्वास्थ्य सामग्री प्राप्त भएको अस्पताल व्यवस्थापक क्षितिज खतिवडाले बताउनुभयो ।













प्रतिक्रिया राख्नुहोस्