तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको भानु नगरपालिकाको नगरसभा स्थगित

तनहुँ । तनहुँ जिल्लाका अन्य पालिकाले बिहीबार नीति, कार्यक्रम तथा बजेट सार्वजनिक भएको छ तर भानु नगरपालिकाको नगरसभा नै स्थगित भएको छ ।

संवैधानिक व्यवस्था अनुसार असार १० गते भित्र नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने व्यवस्था रहे पनि नगरपालिकाको आन्तरिक विवादका कारण नगरसभा स्थगित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोना संक्रमण जोखिमका कारण वडा वडामा बैठक हुन सकेन, समयमा भेला हुन नसकेकाले नगरसभा हुन सकेन ।’

नीति, कार्यक्रम तथा बजेट तयारीका विषयमा नगरपालिकाको कार्यपालिका बैठक समेत बस्न नसकेको र राजस्व, योजना तर्जुमा, बजेटका सीमा निर्धारण लगायतका विषयगत बैठकहरू समेत बस्न सकेको छैन ।

यस्तै, नगरपालिकाको प्रशासनिक भवन भानु–२ स्थित फुस्रेटारबाट भन्सार स्थान्तरण गरेपछि कार्यालयको विषयमा विवाद भइरहेको छ । कार्यालय स्थान्तरणको विषयलाई लिएर नगरसभा स्थगित भएको स्रोतले जनाएको छ । उपमेयर लगायत केही वडाध्यक्षहरुले नगरपालिकाको प्रशासनिक भवन फुस्रेटारमै हुनुपर्ने माग गर्दै आएका छन् भने केही वडाध्यक्षहरुले बजेटको तयारी नपुगेको भन्दै विरोध गरेका छन् ।

नगरपालिकाको प्रशासनिक भवनको विषयमा विवादभइ सर्वोच्च अदालतमा मुद्दा परेको र उक्त मुद्दा विचाराधीन अवस्थामै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button