३१ हेक्टर जग्गामा वृक्षारोपण
विराटनगर । डिभिजन वन कार्यालयले निःशुल्क बिरुवा उपलब्ध गराएपछि मोरङमा वृक्षारोपण गर्ने क्रम बढेको छ । कार्यालयको समन्वयमा निजी तथा सामुदायिक वन एव विभिन्न सङ्घ संस्थाहरूले खोलाका किनार तथा निजी, पर्ती ऐलानी तथा विद्यालय र मठमन्दिरका जग्गामा वृक्षारोपण गर्ने क्रम बढेको हो ।
मोरङ जिल्लामा चालु आर्थिक वर्षमा ३१ हेक्टर जग्गामा वृक्षारोपण भएको छ । डिभिजन वन कार्यालय मोरङ, जिल्ला वन पैदावार आपुुर्ति समिति तथा लोहन्द्रा केराबारी साझेदारी वनको सहयोगमा नदी उकास तथा पूर्ति एवं ऐलानी जग्गा ११ हेक्टरमा तथा तराई मधेस हरियाली विकास कार्यक्रम अन्तर्गत तराई क्षेत्रमा २० हेक्टर जग्गामा वृक्षारोपण भएको डिभिजन वन कार्यालयका मोरङका सुुचना अधिकारी रामलखन ठाकुरले बताउनुभयो ।

वृक्षारोपणका लागी किसानहरूलाई टिक, मसला, खमारी, खयर तथा जामुुनका बिरुवा निःशुल्क उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । यस्ता प्रकारका बिरुवाबाट पाँच देखि १५ वर्ष भित्र उत्पादन लिन सकिन्छ ।
त्यस्तै कार्यालयले चालु आर्थिक वर्षमा ८ लाख २५ हजार बिरुवा उत्पादन गरेको जनाएको छ । निजी र सरकारी गरी १९ वटा नर्सरीबाट बिरुवा उत्पादन गरेको हो । ती सबै नर्सरी तथा पायक पर्ने स्थानबाट किसानलाई निःशुल्क बिरुवा वितरण गर्ने व्यवस्था मिलाइएको डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्ध कुमार साहले बताउनुभयो ।
कार्यालयले गत वर्ष जस्तै यो वर्ष पनि किसानलाई निःशुल्क फलफुलको बिरुवा वितरण गर्दै आएको छ । आँप, लिच्ची, कटहर, कागती तथा डायगन फुडका उन्नत जातका बिरुवा वितरण गरेको हो । सो कार्यालय सहित अन्य १२ वटा सव डिभिजन कार्यालय मार्फत निःशुल्क वितरण भइरहेको उहाँले बताउनुभयो । पहिलो चरणमा २५ हजार फलफुलका बिरुवा वितरण गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ । एउटा किसानलाई २ देखी ५ वटा फलफुलका बिरुवा उपलब्ध गराइन्छ ।
सङ्घीय सरकारको मार्फत आएको सो कार्यक्रम अन्तर्गत गत वर्ष पनि मोरङमा २५ हजार फलफुलका बिरुवा वितरण भएको थियो । फलफुलका विरुवाका माग अत्यधिक रहेकाले व्यावसायिक भन्दापनि वारी तथा कान्लाहरूमा लगाउन किसानलाई बिरुवा वितरण गरिएको हो । त्यस्ता बिरुवाको बजार मुल्य प्रतिगोटा ३ सयदेखी ५ सय रुपैयाँ सम्म पर्ने गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्