पोखरा महानगरपालिकाको बजेट ६ अर्ब २७ करोड ७५ लाख
पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।
महानगरको नवौँ नगर सभामा बिहीबार महानगर पालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षाको लागि बजेट प्रस्तुत गर्नुभएको हो । चालुतर्फ रु २ अर्ब ९० करोड ९४ लाख र पुँजीगत खर्च रु.३ अर्ब ३६ करोड ८० लाख रकम विनियोजन गरिएको छ । कुल बजेटमा चालुतर्फ ४६ दशमलव ४ प्रतिशत र पुँजीगत खर्चतर्फ ५३ दशमलव ६ प्रतिशत विनियोजन प्रस्ताव गरिएको छ ।
महानगरले आगामी आर्थिक वर्षका लागि आन्तरिक आयबाट २ अर्ब २२ करोड, सङ्घीय सरकार वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड १६ लाख, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट ९ करोड २८ लाख, सङ्घीय राजश्व बाँडफाँटबाट ३१ करोड २१ लाख ५४ हजार, प्रदेश सरकार राजश्व बाँडफाँटबाट ६ करोड १८ लाख ७६ हजारको अनुमानित आयसहितको बजेट प्रस्तुत गरेको हो ।
१ अर्ब ३ करोड ७५ लाख ९२ हजार न्यून हुने देखिएकाले त्यसको पूर्ति गर्न गत आर्थिक वर्षमा सञ्चित मौज्दात र चालु आवको अन्त्यमा बचत हुने रकमबाट व्यहोरिने बताइएको छ ।
महानगरले आगामी आर्थिक वर्षको लागि करको दायरा विस्तार गर्ने तर प्राविधिक विषयहरू बाहेक करका दरहरू वृद्धि नगर्ने नीति लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्