तपाईँ सुन्दै हुनुहुन्छः

रकम हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित २५ जनाविरुद्ध मुद्दा दर्ता

दाङ । दाङको एक बचत तथा ऋण सहकारी संस्थामा पाँच करोड बढी आर्थिक हिनामिना गरेको आरोपमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी सहित २५ जनाविरुद्ध मुद्दा दर्ता गरी छानबिन शुरु गरिएको छ ।

राप्ती गाउँपालिका वडा नं  ८ मा रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूले पाँच करोड बढी रकम हिनामिना गरेको भन्दै कर्मचारी र पदाधिकारीविरुद्ध  मङ्गलवार  दाङ देउखुरी जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।  

उजुरीपछि सहकारी संस्थाका सह–लेखापाल २९ वर्षीय विक्रम राना,  ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी र लेखापाल ३७ वर्षीय विकास न्यौपाने लाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।   

रकम हिनामिना गर्ने मुख्य व्यक्ति मध्ये सह लेखापाल रानाको  बढी  सहभागिता रहेको देखिएको हुँदा रानाको  श्रीमतीलाई पनि पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले पक्राउ परेकाहरूको बयान बुधवारदेखि सुरु भएको जानकारी दिए ।  बुधवार दुई जनाको बयान सकिएको र बिहीबारदेखि अन्यको बयान सुरु भएको जिल्ला अदालतका स्रेस्तेदार गिरीले जानकारी दिए।   शुक्रवारदेखि थुनछेक बहस सुरु हुने गिरीले बताए।
 पक्राउ नपरेका गाउँपालिका  अध्यक्ष सहित २० जना फरार सूचीमा राखिएको अदालतका सूचना अधिकारी गिरीले जानकारी दिए। अध्यक्ष सुवेदी सहकारीका लेखा सुपरिवेक्षण समिति अन्तरगत रहेको  हुँदा उनीविरूद्ध पनि मुद्दा परेको  प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता मुकुन्द रिजालले प्रतिवादीहरू आफैँ अदालतमा हाजिर हुन नआए पक्राउ गरेर ल्याइने जानकारी दिए ।  केही समय पहिले मात्रै चार वटा सहकारी मिलाएर  देउखुरी बचत तथा ऋण सहकारी संस्थाको निर्माण गरिएको थियो।

यता राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले आफूविरूद्ध पनि मुद्दा परेको आफूलाई थाहा भएको बताए ।  

‘म पहिला सहकारीको संस्थापक हुने बेलामा लेखा समितिको प्रमुख थिएँ र अरू साथीहरू पनि हुनुहुन्थ्यो, मैले समय दिन पाइनँ र त्यसपछि कर्मचारीको मिलेमतोमा बदमासी भएको देखिन आएको छ।’

उनले अदालतले बोलाउना साथ आफैँ उपस्थित हुने स्पष्ट पारे। अध्यक्ष सुबेदीले भने  ‘प्रहरी प्रशासन र न्यायालयप्रति मेरो उच्च सम्मान छ, बोलाउना साथ  म आफैँ उपस्थित हुनेछु।’

अध्यक्ष सुवेदीले बदमासी जसले गरेको भए पनि संस्थापकको नाताले आफूलगायत अन्य धेरै निर्दोष साथीका नाममा पनि मुद्दा परेको भन्ने आफूले सुनेको भए पनि त्यसलाई सहज रूपमा लिएको बताए ।

‘गल्ती गरेको भए पो डराउनु,’ अध्यक्ष सुवेदीले भने, ‘सहकारीको अनियमितता बारेको अनुसन्धानमा म शतप्रतिशत सघाउने छु।’ न्यायालयमा उपस्थित भएर आफूले सत्य तथ्य जानकारी दिने र दोषी जो कोही भए पनि कानुनी कारबाहीका लागि  सघाउने अध्यक्ष सुवेदीले स्पष्ट पारे। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button