तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा उपमहानगरपालिकाद्वारा २ अर्ब ६० करोड बराबरको बजेट सार्वजनिक

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि २ अर्ब ६० करोड १५ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको अध्यक्षतामा आज भएको नवौँ नगरसभा बैठकमा उपमेयर मिना कुमारी लामाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न २ अर्ब ६० करोड १५ लाख ५२ हजार बराबरको बजेट सार्वजनिक गर्नुभएको हो । 

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख ७५ हजार अनुमान गरिएको छ । उपमहानगरपालिकाले राजस्व बाँडफाँडबाट ५६ करोड ८ लाख ८१ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट १२ करोड ६६ लाख ९६ हजार, सङ्घीय सरकारको अनुदानबाट १ अर्ब २ करोड १ लाख, नगर विकास कोषबाट ऋण अनुदान ९ करोड र गत वर्षको नगद मौज्दातबाट ५६ करोड रुपैयाँ बेहोर्ने उल्लेख गर्नुभयो । 

आगामी आर्थिक वर्षमा उपमहानगरपालिका कार्यालयले सबै भन्दा महत्त्वपूर्ण कामका रुपमा बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि क्रमागत योजना अन्तर्गत १४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उपमेयर लामाले बताउनुभयो । 

हेटौँडा–४ मा निर्माण हुने बहुबर्षीय योजना अन्तर्गत बहुउद्देश्यीय व्यापारिक भवन निर्माण कार्य शुरु गर्न १५ करोड विनियोजन गरेको छ । बृहत्तर चक्रपथ निर्माण कार्य निरन्तरता अन्तर्गत एक्लेखेत राजदेवी, मजुवा दोभानचौर खण्डको सडक स्तरोन्नतिका लागि ३ करोड विनियोजन गरेको छ । हेटौँडा १७ कठायत चोक देखि बालबोध माविसम्मको सडक स्तरोन्नतिका लागि ३ करोड विनियोजन गरिएको छ। कर्रा करिडोर निर्माण निरन्तरताको लागि १ करोड ५० लाख विनियोजन गरेको छ । 

सङ्घीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिति एवम् अन्य सङ्घ संस्थाहरूसँगको साझेदारीमा सञ्चालन हुने योजनाको लागि ४ करोड ५० लाख विनियोजन गरेको छ । भने, वडा तथा वस्ति स्तरीय पूर्वाधार योजनाको लागि ३२ करोड ७० लाख विनियोजन गरिएको छ । 

नगरवासीलाई स्वच्छ खानेपानी व्यवस्थापन गर्न हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसँग सह लगानी कार्यक्रमको लागि १ करोड ५० लाख विनियोजन गरिएको छ । आयोजनाहरू सहित पूर्वाधार विकास क्षेत्रभित्र पर्ने ऊर्जा, सडक बत्ती, आवास व्यवस्था, जलश्रोत सिँचाई लगायत नगर स्तरीय पूर्वाधार आयोजना सञ्चालनका लागि १ अरब ३० करोड ४५ लाख ७६ हजार विनियोजन गरिएको छ ।

त्यसै गरी हेटौँडा ११ थाना भर्याङ्ग स्थित प्रदेश सरकार सँगको सहकार्यमा निर्माण हुने प्रादेशिक थोक फलफूल तथा तरकारी बजार केन्द्रको लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । रोजगार प्रवर्द्धन कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीको लागि रूपान्तरण पहल कार्यक्रमका लागि १ करोड ५३ लाख विनियोजन गरिएको छ । 

कृषि विकास अन्तर्गतका कार्यक्रमका लागि २ करोड २४ लाख ५० हजार, पशुपक्षी विकास अन्तर्गतका कार्यक्रमको लागि २ करोड २४ लाख विनियोजन गरिएको छ। उद्योग विकास, सहकारी क्षेत्र र वित्तीय क्षेत्र अन्तर्गतका कार्यक्रमको लागि १ करोड २७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । गुम्बा डाँडा, कुष्माण्ड सरोवर त्रिवेणीधाम, टोनी हेगन पार्क, जुरेथुम पर्यटकीय पार्क, स्वर्गीय बिपी गणेशमान स्मृति पार्क लगायतका पर्यटकीय पूर्वाधार योजना निर्माणका लागि २ करोड १९ लाख विनियोजन गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button