प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा निरन्तर सुनुवाई, आज पनि रिट निवेदक पक्षकै बहस जारी

काठमाडौं। प्रतिनिधिसभा विघटन सम्बन्धमा परेको रिटमा भइरहेको सुनुवाईमा आज पनि रिट निवेदक पक्षकै कानुन व्यवसायीको बहस जारी छ ।
प्रतिनिधिसभा विघटन बदर गरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै परेको रिटमा संवैधानिक इजलासले बुधबारदेखि निरन्तर सुनुवाई गरिरहेको छ ।प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा जारी सुनुवाईमा आज दोस्रो दिन पनि रिट निवेदक पक्षका कानुन व्यवसायीहरूले बहस गरिरहनु भएको छ ।
आजको सुनुवाइमा बहस सुरु गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संविधानको धारा ७६ को उपधारा ५ ले सांसदहरूलाई विशेष अधिकार दिएकाले अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न नपाउने भन्ने तर्क गलत भएको जिकिर गर्नुभयो ।प्रतिनिधिसभा विघटन सम्बन्धमा परेको सो रिटमा सर्वोच्च अदालतले रिट निवेदक पक्षलाई सुरुवाती बहसका लागि १२ घण्टा र पछि जवाफी बहसका लागि ३ घण्टासहित १५ घण्टाको समय तोकिदिएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन परेका छन् । तीमध्ये कांग्रेस सभापति देउवासहित १४६ सांसदले दिएको रिट निवेदनमा सुनुवाई भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्