तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंज नाकाबाट ११ महिनामा ४४ अर्ब २४ करोडको माल सामान निर्यात


बीरगंज ।  मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष २०७७÷०७८ को ११ महिनामा ४४ अर्ब रुपैयाँभन्दा बढीको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुक निर्यात भएको छ । 

निर्यात भएका मालवस्तुहरु आर्थिक वर्ष २०७६/०७७ को सोही अवधिको तुलनामा ५१ प्रतिशतले वृद्धि भएको बीरगंज भन्सारको तथ्याङ्कले देखाएको छ । 

चालू आवको साउनदेखि जेठसम्ममा ४४ अर्ब २४ करोड रुपैयाँ बराबरको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुक निकासी भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताउनुभयो । वीरगञ्ज नाकाबाट सबैभन्दा बढी खाने तेल भारत निर्यात भएको पौडेलले बताउनुभयो । 

चालु आर्थिक वर्षको ११ महिनामा बीरगंज नाकाबाट भटमासको प्रशोधित तेल मात्र २८ अर्ब ५६ करोड रुपैयाँ भन्दा बढीको  भारत निर्यात भएको पौडेलले बताउनुभयो । 

उहाँले सो अवधिमा१६ करोड ३७ लाख किलो भटमास तेल निर्यात भएको जानकारी दिनुभयो । 

नेपाली व्यवसायीहरूले अर्जेन्टिना, ब्राजिल, क्यानडा, युक्रेन लगायत देशबाट कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर भटमासको तेल  भारत निर्यात गर्दै आएका छन् । 

बीरगंज पथलैया औद्योगिक करिडोरमा रहेका झन्डै डेढ दर्जन तेल उद्योगहरूले भटमासको तेल भारत निर्यात गर्दै आएका छन् । 

वीरगञ्ज नाकाबाट भारत तर्फ धेरै निर्यात हुने माल वस्तुमा डाबर नेपालको जुस, जाम, त्रिफला, च्यवनप्रास, दन्त मन्जन लगायतका सामानहरू रहेका छन् भने  जुत्तासेन्थेटिक यार्न, कपडा, पिना,लगायत माल वस्तु समेत बीरगंज नाकाबाट भारत तथा तेस्रो मुलुक निर्यात भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button