विकास र समृद्धिको आशा जगाउँदै पक्की पुल

भोजपुर । केही वर्ष अघिसम्म भोजपुरको हतुवागढी र आमचोक क्षेत्रमा पैदलै यात्रा गर्नु पर्थ्यो । भौगोलिक विकट मानिने यस क्षेत्रमा मानिसहरू डोको बोकेर सामान ओसारपसार गर्थे । भरिया र खच्चरलाई प्रमुख ढुवानीको विकल्पको रुपमा लिइन्थ्यो । तर पछिल्लो ५ वर्षयता दक्षिणी क्षेत्र सडक सञ्जालले धमाधम जोडिन थाले ।
अहिले यस क्षेत्रको स्वरूप नै फेरिएको छ । दुई पाङ्ग्रे हुँदै ठुला यात्रु र मालवाहक सवारी चल्न थाले । सडक सञ्जालसँगै ठुला खोलाहरूमा मोटर चल्ने पुलहरू बन्न थाले । सदरमुकाम जोड्ने पिखुवा खोला, कावा खोला, चुहार दोभानमा मोटरेबल पुल सञ्चालनमा आए । केही पक्की पुलहरू बन्ने क्रममा छन् । जसले निकट भविष्यमा दक्षिणी क्षेत्रसँगै सिङ्गो जिल्ला खोटाङ, धनकुटा, उदयपुर जिल्लावासी समेत लाभान्वित हुनेछन् । सडकसँगै बनेका पक्की पुलले समग्र जिल्लाकै विकासमा ठुलो फड्को मारेको छ ।
प्लास्टिकको बोतलमा पानी बोकेर दक्षिणी क्षेत्र गएको स्मरण गर्दै सञ्जीव कार्कीले भन्नुभयो, “कुनै समय खोलाबाट पानी बोकेर पैदलै दक्षिणी क्षेत्रतिर धाउनु पर्ने त्यो कष्टकर क्षण सम्झँदा कहानी जस्तो लाग्छ, अहिले जताततै सडक सञ्जाल जोडिए, सडकसँगै तर्न नसकिने ठुला खोलाहरूमा बनेका पक्की पुलले दक्षिणी क्षेत्रको समृद्धि र विकास ल्याएको छ ।”
सामाजिक क्षेत्रमा लामो समय देखि कार्य गर्दे आउनु भएका नवीन प्रधानले पक्की पुलको विकासले समग्र क्षेत्रको विकास र सुविधामा टेवा मिलेको बताउनुभयो । “अहिले पनि कच्ची बाटोबाट तराई पुग्न घण्टौँ लाग्छ, निर्माणाधीन मोटरेबल पुल बनिरहेका छन्, ती पुलको काम सकिने बितिकै यो सास्ती हटेनछ’’ उहाँले भन्नुभयो ‘‘उदयपुर जोडने पुल निर्माणको काम अन्तिम चरणमा छ, यो पुल सञ्चालनमा आउनसाथ सुनसरीको चतरा हुँदै तराई जाने दुरी छोट्टिनेछ”
सडक र पुलको पहुँचले जिल्लाको आर्थिक, सामाजिक विकाससँगै यातायात व्यवसायीलाई समेत राहत मिलेको छ । दक्षिणी क्षेत्रलाई तराइसँग जोड्ने दुधकोशी नदीको मोटरेबल पुलको निर्माण कामले यहाँका नागरिक उत्साहित छन् । ‘‘सडकको पहुँचले हामीले राहतको महसुस ग¥यौँ, पक्की मोटरेबल पुलहरू बन्न थालेपछि अझै विकासको मुहार फेरिएको छ’’ हतुवागढी गाउँपालिका घोरेटारका शिक्षक ईश्वर खडकाले भन्नुभयो, “पुल निर्माणको काम नै पहिलो प्राथमिकता हो, तोकिएको समयमा नै सम्पन्न गर्न सके विगतको सास्ती निर्मूल हुन्थ्यो”
हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका, रामप्रसाद राई गाउँपालिका क्षेत्रका केही ठुला पुलहरूको काम चलिरहेको छ । ०७७ असोज २६ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेको दुधकोशी जोड्ने पुलको काम भइरहेको छ । प्रदेश सरकारको कुल २१ करोड २३ लाख १२ हजार ४ सय ७ रुपैयाँको लागतमा बन्ने उक्त पुलका लागि तीन पटक बोलपत्र खुलाइए पनि कुनै पनि बोलपत्र नआएपछि निर्माण काममा केही ढिलाइ भएको थियो । हतुवागढी गाउँपालिका ९, हसनपुरको चुहार र उदयपुरको बेलका नगरपालिका ७, मैनामैनी जोडिने उक्त पुल निर्माणपछि तराईको दुरी छोट्टिने भएपछि जिल्लाको आर्थिक विकासमा समेत टेवा पुग्ने हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईको भनाई छ ।
प्रदेश १ भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालयका अनुसार ९० मिटर लम्बाई र साढे १० मिटर चौडाईको उक्त पुलको निर्माण जिम्मा कालिका प्यासिफिक जेभीले पाएको छ । भोजपुर सदरमुकाम देखि दुधकोशी पुलसम्मको लम्बाई करिब ६५ किलोमिटर छ । उक्त पुलको काम तोकिएको समयमै सम्पन्न गर्न मुख्यमन्त्री शेरधन राई लागि पर्नु भएको छ । पुलसँगै पिखुवा खोला र काखा खोलामा समेत मोटरेबल पुल निर्माण भइरहेका छन् ।
पूर्वाधार विकास कार्यालय भोजपुर अन्तर्गत अहिले पिखुवा खोला मोटरेबल पुल निर्माणको कार्य समेत भइरहेको छ । प्रदेश १ सरकारको लगानीमा कार्यालय अन्तर्गत भोजपुर नगरपालिका र रामप्रसाद राई गाउँपालिका जोड्ने पिखुवा खोलामा पुल निर्माणको कार्य थालिएको हो । झन्डै ६ करोडको लागतमा निर्माणाधीन घोरेटार सडक खण्ड अन्तर्गतको मानेभञ्याङ टक्सार पिखुवा खोलाको मोटरेबल पुलको काम २०७८ साल चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
निर्माणाधीन पुलको विकासले उत्पादित सामाग्रीको बजारीकरणसँगै स्थानीयवासीको शिक्षा, स्वास्थ्य, रोजगार जस्ता महत्त्वपूर्ण पक्षमा सहयोग पुग्ने हतुवाढी गाउँपालिका रानीबासका शम्भु राईले अपेक्षा व्यक्त गर्नुभयो । भन्नुभयो, “विकासको प्रशस्त सम्भावना रहे पनि पक्की पुलको अभावले ओझेलमा परेको छ, तर निर्माणाधीन पुलले स्थानीय बासिन्दामा आशा जगाएको छ”
रामप्रसाद राई गाउँपालिका र हतुवागढी गाउँपालिका जोड्ने कावा खोलामा मोटरेबल पक्की पुल निर्माण भइरहेको छ । भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडक खण्ड अन्तर्गत उक्त पुलको काम आगामी असार मसान्त भित्रै सम्पन्न हुने बताइएको छ । स्विस सरकारको ५ करोड अनुदान लागतमा निर्माणाधीन उक्त पुलको लम्बाई ४५ मिटर र चौडाइ ६ मिटरको छ । स्थानीय सडक तथा पुल कार्यक्रम प्रदेश १ का संयोजक मङ्केश्वर ठाकुरका अनुसार १ दशमलव २० मिटर दुवैतिर पैदल हिँड्न मिल्ने गरि पुल निर्माण हुनेछ ।
कार्की बन्धु कन्स्ट्रक्सन विराटनगरले निर्माण गर्ने उक्त पुलको सिभिल तर्फको कार्यका लागि २ करोड ३ लाख २४ हजार ३ सय ७१ रकम विनियोजित छ । पुलमा ट्रस जडान भने अर्को कम्पनीले गर्ने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । निर्माण कम्पनीका अनुसार पुलको आयु ८० वर्ष रहने र भूकम्प प्रतिरोधी हुनेछ । पुल निर्माण कार्य सम्पन्न भएपछि सदरमुकामबाट तराईका जिल्लाहरू सम्म यातायात सहज हुनेछ ।
जिल्लाभित्र सञ्चालित त्यस्ता पुल निर्माणले विकास र समृद्धिमा धेरै ठुलो टेवा पुग्ने स्थानीय सरोकारवाला घमचन्द्र दाहालको बुझाई छ । ‘‘दक्षिणी क्षेत्रका निर्माणाधीन यस्ता पुलले त्यहाँका जनतासँगै सिङ्गो भोजपुरवासीको मुहार बदलिनेछ, लामो समयदेखि पुल नहुँदा सास्ती खेप्दै आएका यहाँका नागरिकलाई प्रत्यक्ष लाभ मिल्नेछ’’ दाहालले भन्नुभयो । जिल्लाको विकाससँग गाँसिएका पुलको काम तोकिएकै समयमा गुणस्तरीयता कायम गर्दे निर्माण गराउन सरोकारवाला निकायले निर्माण कम्पनीहरूलाई दबाब सहित अनुगमन गर्न जरुरी रहेको नागरिक समाज भोजपुरका संयोजक पर्शुराम तिवारीले प्रस्ट्याउनुभयो ।
दक्षिणी क्षेत्रका साथै भोजपुरमा अहिले अन्य विभिन्न खोलाहरूमा समेत पक्की पुलको निर्माण कार्य भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । भोजपुरको टक्सार र कोट गाविसको सिमानामा पर्ने पक्की पुलको निर्माण कार्य यस केही बर्ष अघि नै भइसकेर सञ्चालनमा आएको छ ।
पुलको ठेक्का देवेन सागर, कान्छाराम एण्ड मार्सेली कम्पनीले लिएको थियो । ५० मिटर लम्बाई र ५ मिटर ४५ सेमी चौडाईको पुलको भार वाहन क्षमता २२ टन रहेको छ । यस्तै हाल बांखुवा, तमुटार, आरी खोलालगायतका ठाउँहरूमा समेत पुलको निर्माण कार्य हुँदै आई रहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जानकारी दिएको छ ।
पछिल्लो समयमा निर्माण कार्य शुरु भएका पक्की पुलले विकासका क्षेत्रमा थप टेवा पुर्याएको जिल्लावासी सन्तोष तामाङको धारणा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्