सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट छैठौं समूहको एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष उद्घाटन

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन हुने छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको बुधवार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा एक समारोहका बीच उद्घाटन गर्नुभयो ।
महानिरीक्षक खनालले सङ्गठनमा आबद्ध अधिकृतको नेतृत्व क्षमता र दक्षता विकास गरी जनशक्ति विकासमा गुणात्मक फड्को मार्ने उद्देश्यका साथ सुरु गरिएको यस कोर्षले विभिन्न समयमा आइपर्न सक्ने सुरक्षा चुनौतीलाई समेत विश्लेषण गरेर योजनाबद्ध रुपमा व्यावसायिक कार्यसम्पादन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले राष्ट्र र नागरिकले चाहे जस्तो सेवा प्रवाहमा उक्त कोर्ष गरेका अधिकृतहरूले कार्यक्षेत्रमा खटिई उल्लेख्य योगदान पुर्याउँदै आइरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीको ‘समृद्ध नेपाल सुखी नेपाली’को महान् अभियान साकार पार्न सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा, शान्ति सुरक्षा, विपद् प्रकोप नागरिकहरूको सेवा, सुरक्षा र उद्धारका साथै राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा गर्दै सक्षमताका साथ शान्ति सुरक्षाको माध्यमबाट विकासको वातावरण निर्माण गर्ने कार्यमा आफ्नो ठाउँबाट योगदान पुर्याई रहेको तथा त्यसका लागि सङ्गठनलाई आजको यस उँचाइसम्म पुर्याउन योगदान पुर्याउनुहुने सङ्गठनका अग्रजहरूको योगदानको समेत स्मरण गर्नुभयो ।
एपीएफ अधिकृतहरूलाई ईमान्दार, नैतिकवान्, कर्तव्यनिष्ठ बनाई सांगठानिक विकासमा योगदान पु¥याउन सक्ने गरी पूर्ण व्यावसायिक बनाउन यस कोर्षले यथेष्ट ज्ञान प्रदान गर्ने चर्चा गर्नुहुँदै महानिरीक्षक खनालले व्यक्तिको व्यक्तित्व बिकास तथा बृत्तिबिकासमा समेत यस्ता कोर्षले महत्त्वपूर्ण सहयोग पुर्याउने उल्लेख गर्नुभयो ।

उहाँले ज्ञान आर्जन गर्ने कार्य जीवन पर्यन्त चलिरहने विषय भएको चर्चा गनुहुँदै यस्ता उच्च शिक्षा आर्जन गर्नेतर्फ अध्ययनशील र अभैmबढी मेहनती भई लाग्न प्रशिक्षार्थी अधिकृतहरूलाई निर्देशन दिनुहुँदै उच्च शिक्षाले सुशासनको आधारभूत जग निर्माण गर्ने समेत बताउनुभयो ।
समारोहमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले अन्तर्राष्ट्रिय स्तरको एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष सञ्चालनमा सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदाको खुशी व्यक्त गर्नुहुँदै सो कलेजबाट दीक्षित सशस्त्र प्रहरी अधिकृतहरूले सांगठानिक बिकासका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो दक्षता प्रदर्शन गरी सुरक्षा तथा विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती तथा सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घीय पद्धति, नेतृत्व र विकास, चुस्त तथा व्यवस्थित रुपमा फौजको परिचालन, सीमा भन्सार तथा औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विविध विषयहरू एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा समेटिएको कुरा सो समारोहमा जानकारी गराइएको थियो ।

एपीएफ कमाण्ड तथा स्टाफ कलेज २०७१ साल फागुन २० गते स्थापना भएको हो भने उक्त कोर्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा सुरक्षा, विकास र शान्ति अध्ययनमा स्नातकोत्तर डिग्री रहेको छ ।
एक वर्ष ६ महिना अवधिको उक्त कोर्षमा कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दुई जना र सशस्त्र प्रहरी नायव उपरीक्षक आठ जना गरी १० जनाअधिकृतहरूको सहभागिता रहेको छ ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा सहप्राध्यापक, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका शैक्षिक कार्यक्रम संयोजक लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्