बागलुङमा विवाह भोजमा सहभागी भएका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि
बागलुङ । बागलुङ नगरपालिका वडा नं. ३ मा केही दिनअघि विवाह भोजमा सहभागी भएका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
धौलागिरि अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार उनीहरूमा कोरोना पुष्टि भएको हो ।
एक साताअघि विवाह भोजमा सहभागी भएकाहरूमा कोरोनासँग मिल्दाजुल्दा लक्षणसहित बिरामी परेपछि बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले स्वाब सङ्कलन गरेको थियो ।
लक्षण देखिएका ५० जनाको स्वाब परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।
सदरमुकाम बागलुङ बजार छेवैको गाउँभरि नै सङ्क्रमण फैलिएको पाइएको हो । उक्त क्षेत्र सिल गर्ने विषयमा छलफल चलिरहेको छ । स्थानीयले होम आइसोलेसनमै बस्ने र बाहिर ननिस्कने प्रतिबद्धता जनाएको खनालको भनाई छ । विवाह भोजमा सहभागी भएका र सङ्क्रमितको सम्पर्कमा आएका अन्यको खोजी भइरहेको खनालले बताउनुभयो ।
सङ्क्रमितहरूमा खोकी लाग्ने, ज्वरो आउने लगायतका लक्षणहरू छन् । उहाँका अनुसार, दोस्रो लहर चल्ने बेला अन्यत्रभन्दा पहिला धेरै सङ्क्रमित देखिएको वडा नं. १४ नारायणस्थान सक्रिय सङ्क्रमित मुक्त भएका छन् । त्यस्तै वडा नं. ११ रायडाँडा, वडा नं. ५ मालिका र वडा नं. ८ सिगानामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ ।








प्रतिक्रिया राख्नुहोस्