तपाईँ सुन्दै हुनुहुन्छः

पाटन क्षेत्रमा पाँचदिनदेखि सात जना बेपत्ता : खोजी गर्न हवाई उद्धारका लागि अनुरोध

जाजरकोट । जुम्ला र जाजरकोटको सिमाना कुशे गाउँपालिकाको जलजला पाटन क्षेत्रमा गोठालो गएको बेला हावाहुरी चलेर बेपत्ता भएका सात जनाको हवाई उद्धार गर्न सरकारसँग अनुरोध गरिएको छ । 
घरपालुवा गाई, भैँसी, बाख्रा, भेडा लगायतका पशु चौपाया लिएर पाटन पुगेका कुशे गाउँपालिका ८ औलरिजा र वडा नम्बर ९ पैकका ११ जना मध्ये सात जना बेपत्ता भएको र प्रतिकुल मौसमका कारण स्थल मार्गबाट खोजी गर्न कठिनाइ भएपछि स्थानीय प्रशासनले हवाई उद्धारका लागि गृह मन्त्रालयमा अनुरोध गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिनु भएको छ ।
      कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बेपत्ताको खोजीको लागि गएका स्थानीय र प्रहरी टोली कुशे हिमालको फेदीमा पुगेको र हावाहुरी तथा चट्याङका कारण लेक चढ्न नसकेको र अन्य उद्धारका लागि वैकल्पिक माध्यम नभएकोले हवाई उद्धारको व्यवस्था मिलाइदिन स्थानीय प्रशासनलाई आग्रह गरेको बताउनु भएको छ ।
हावाहुरी सहितको पानी पर्न थालेपछि चार जना भागेर ज्यान जोगाएका छन् भने अन्य सात जना पाँच दिनदेखि सम्पर्क विहीन भएको जाजरकोट प्रहरीले जनाएको छ । जसमध्ये २४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीय गंगा रोकाय घर फर्केको र अन्य ७ जना पाटनमै बेपत्ता भएको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताउनु भयो । पाँच दिनपछि पाटनबाट फर्केका भक्तबहादुर रोकायले प्रहरी चौकी पैंकमा खबर गरेपछि घटनाबारे थाह भएको प्रनाउ थापाले बताउनु भयो । बेपत्ता हुनेमा कुशे गाउँपालिका ८ औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीय चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय भीमबहादुर खड्का, १७ वर्षीय धनसरा खड्का र सोही गाउँपालिका वडा नम्बर ९ का ४० वर्षीय कृष्ण रोकाय रहेका छन् । 
हावाहुरीकै बिच भागेर पाँच दिन पछि घर फर्किएका गंगा रोकायले पशु वस्तु लिएर पाटन पुगेको बेला एक्कासि आएको हावाहुरी सहितको बर्षातले सात जना हराएको जानकारी दिनु भयो । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पैकबाट गएको प्रहरी टोली प्रतिकुल मौसमका कारण घटना स्थल पुग्न सकेको छैन । खोजी कार्यका लागि सदरमुकाम खलंगाबााट प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीको नेतृत्वमा एक टोली घटनास्थल तर्फ पठाइएको प्रहरी प्रमुख थापाले बताउनु भयो । भारी वर्षात् र हावाहुरीका कारण पाटनमा पुगेर बेपत्ताको खोजी गर्न कठिनाइ भएको छ । प्रतिकूल मौसम, हाइ अल्टीच्युट, कठिन भूगोल, टेलिफोन सुविधा नहुनुलगायत कारण बेपत्ताको खोजी गर्न चुनौती भएको अध्यक्ष हरिचन्द्र बस्नेतको भनाइ छ । हावाहुरी (वौका) र चट्याङले कुशे पाटनमा १० भैँसी, २२ गाई र ५५ भेडाबाख्रा मरेका छन् । कुशेमा टेलिफोनको नेटवर्क नहुँदा बुधवार रातिमात्रै घटनाबारे खबर आएको थियो । कुशे गाउँपालिकाका स्थानीयले जेठदेखि भदौ महिनासम्म हजारौँ पशुचौपाय चरीचरणका लागि कुशे पाटनमा राख्ने गर्दछन् । भेडा बाख्रा लगायत पशु चौपाया चरीचरण गर्ने कुशे पाटन ४ हजारदेखि ५ हजार मिटरको उचाइमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button