बाढीले दोर्दी कोरिडोरका चार वटै जलविद्युत आयोजना प्रभावित
लमजुङ । अविरल वर्षासँगै लमजुङको दोर्दी खोलामा आएको बाढीका कारण दोर्दी कोरिडोरमा निर्माणाधीन अवस्थामा रहेका चार वटै जलविद्युत आयोजना प्रभावित भएका छन् । बाढीले निर्माणाधीन जलविद्युत आयोजनाहरूमा अरब भन्दा बढी क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ ।
बाढीका कारण दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत आयोजनामा मात्रै झन्डै एक अरब रुपैयाँको क्षति भएको अनुमान भएको हो । खोलामा आएको बाढीका कारण आयोजनाको निर्माणाधीन बाँध क्षेत्र सँगै पावर हाउसमा समेत क्षति पुगेको छ ।
दुई वटा हेड वर्कस रहेको सो आयोजनाको दुवै संरचनामा क्षति पुगेको छ । आयोजनाको टनेल, मुख्य टनेल लगायतका संरचनाहरूमा बाढी पसेपछि अधिक क्षति भएको हो । बाढीले आयोजनाको संरचनामा क्षति पुर्याउनुको साथै एक्स्काभेटर, विद्युतीय उपकरण सहितका करोडौँ मूल्य बरावरका सामाग्री बगाएको आयोजना प्रवर्द्धक कम्पनीका अध्यक्ष इजन बरालले जानकारी दिनुभयो ।
अध्यक्ष बरालका अनुसार आयोजनाको संरचना सँगै निर्माणाधीन १३२ राष्ट्रिय प्रसारण लाइन पनि प्रभावित भएको छ । दोर्दीको कीर्तिपुर देखि पावर हाउस सम्म आयोजना आफैँले निर्माण गरेको करिब पाँच किलोमिटर प्रसारण लाइनका चार वटा पोल ढलेको अध्यक्ष बरालले जानकारी दिनुभयो । बाढीका कारण पुगेको क्षति बारे अहिले नै यकिन गर्न नसके पनि ७५ करोड देखि एक अरब सम्म क्षति भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको अध्यक्ष बरालको भनाई छ ।
यसै गरी दोर्दी खोलामा आएको बाढीका कारण लिवर्टी इनजी प्रालिद्धारा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ए आयोजनामा पनि क्षति पुर्याएको छ । माथिल्लो दोर्दी ए आयोजनाको मात्रै हेड वर्कस, इन्टेक र डिसेन्डरमा क्षति पुर्याएको र केही उपकरण बाढीले बगाएको आयोजना प्रवर्द्धक राजेन्द्र बस्तीले बताउनुभयो । आयोजनाको संरचनामा पुर्याएको क्षतिको तत्कालै अनुमान गर्न नसके पनि करोडौँ रुपैयाँ नोक्सानी भएको प्रवर्द्धक वस्तीको भनाई छ ।
निर्देशक वस्तीका अनुसार आयोजनाको हेडवर्क्समा बढी क्षति पुर्याएको छ । निर्माण सम्पन्न चरणमा रहेको इन्टेक र डिसेन्डर पुरेर क्षति भएको छ । निर्देशक वस्तीका अनुसार बाढीले केही पेनस्टक, सडक लगायतमा पनि क्षति पुर्याएको छ भने निर्माण स्थलमा राखिएका मेसिनरी सामग्री बाढीले बगाएको छ । आयोजनामा भएको क्षतिबारे अध्ययनपछि मात्रै विस्तृत जानकारी पाउन सकिने प्रवर्द्धक राम पाण्डेले बताउनुभयो ।
दोर्दी खोलामा आएको बाढीका कारण निर्माणाधीन १२ मेगावाटको दोर्दी १ जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ । लमजुङ विद्युत् विकास कम्पनी बाढीका कारण सो आयोजनाको पावर हाउनमा ठुलो क्षति पुगेको र क्षतिको यकिन विवरण आई नसकेको आयोजनाले जनाएको छ ।
दोर्दी खोलामा आएको बाढीको कारण दोर्दी खोलामै निर्माण सम्पन्नको चरणमा रहेको २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ । हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरेको सो आयोजनाको पनि बाँध क्षेत्रमा ठुलो क्षति पुगेको छ भने मर्स्याङ्दी नदिमा आएको बाढीका कारण पावर हाउसको बाहिरी संरचनामा क्षति पुगेको आयोजना प्रमुख गुरुराज ढकालले जानकारी दिनुभयो ।
जलविद्युत आयोजनासँगै दोर्दी खोलामा आएको बाढीले केही साता अघि मात्रै निर्माण सम्पन्न १३२ केभी राष्ट्रिय प्रसारण लाइनको चार वटा पोल पूर्ण रुपमा क्षति पुगेको छ । दोर्दी ८ बन्सार हिलेमा राखिएका चार वटा पोल बाढीका कारण पूर्ण रुपमा ढलेका छन् भने अन्य केही पोलहरू उच्च जोखिममा रहेको आयोजना प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो ।
अत्यधिक पानीको बहावसँगै आएको बाढीले दोर्दी गाउँपालिका अन्तर्गत खोला वारपार गर्ने सडकहरू बगाएको छ । दोर्दीमा दुई वर्ष अघि पनि ठुलो बाढी आउँदा निर्माणाधीन जलविद्युत आयोजनाहरू प्रभावित भएका थिए । हाल निर्माण सम्पन्नको चरणमा पुगेका तिन वटा आयोजनाहरूमा पुनः बाढीको प्रभाव परेपछि निर्माण अवधि र खर्च समेत बढ्ने निश्चित भएको छ ।
दोर्दी खोला बाढीको उच्च जोखिममा रहेको भन्दै त्यस क्षेत्रका स्थानीयले जोखिम क्षेत्रहरूमा थप क्षति हुन नदिन विपद् पूर्व सूचना प्रणालीको व्यवस्था, सञ्चार सुविधालाई प्रभावकारी बनाउन र दोर्दी कोरिडोरको माथिल्लो भेगमा रहेको भौगोलिक अवस्था र पछि हुनसक्ने सम्भाव्य अध्ययन गरिदिन गण्डकी प्रदेश सरकारसँग आग्रह गर्दै आएका थिए ।









प्रतिक्रिया राख्नुहोस्