वर्षाले ग्रामीण सडक अवरुद्ध
जाजरकोट । जाजरकोटमा ग्रामीण सडक अवरुद्ध भएका छन् । लगातारको अविरल वर्षासँगै खसेको पहिरोले सडक अवरुद्ध भएका हुन । सडक अवरुद्ध भएपछि सदरमुकाम तथा ग्रामीण क्षेत्रको आवतजावत चार दिनदेखि अवरुद्ध भएको छ ।
अविरल वर्षासँगै खसेको पहिरोले खलङ्गा पाँचकाटीया हुँदै कुशे गाउँपालिका जाने सडक, कालीमाटी बारेकोट सडक, थलह जुनिचाँदे सडक लगायत दर्जन बढी ग्रामीण सडकहरू बन्द भएका छन् ।
कालीमाटी बारेकोट सडक अन्तर्गत पिपलचौर, रघुनाथ, सिर्के, सक्ला लगायत स्थानमा अविरल वर्षासँगै खसेको पहिरोले सडक बन्द भएपछि यातायात सेवा अवरुद्ध भएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनु भएको छ । चार दिनदेखि यो सडक अवरुद्ध भएको छ, अध्यक्ष शाहले भन्नु भयो ।
खलङ्गा पाँचकाटीया सडकको दर्जन बढी स्थानमा पहिरो खसेपछि कुशे गाउँपालिका क्षेत्रमा दैनिक उपभोग्य मालसामान ढुवानी गर्न समस्या भएको पाँचकाटीयाका स्थानीय व्यापारी प्रेमबहादुर थापाले बताउनु भएको छ । पानी लगातार परिरहेको कारण अवरुद्ध सडक खुलाउन समस्या भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले बताउनु भयो ।









प्रतिक्रिया राख्नुहोस्