ग्लोबल गोरखा समाजले पठाएको ४० थान अक्सिजन कन्सनट्रेटर नेपाल आइपुग्यो

चितवन । विदेशमा रहेका गोरखावासीहरूको संस्था ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ‘एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान’ अभियान अन्तर्गत पठाएको ४० थान अक्सिजन कन्सनट्रेटर नेपाल आइपुगेको छ ।गोरखा स्थायी घर भई विश्वका विभिन्न मुलुकमा पेसा व्यवसाय गरिरहेका गोरखालीहरूको संस्था ग्लोबल गोरखा समाजले सहयोग सङ्कलन गरी उक्त अक्सिजन कन्सनट्रेटर नेपाल पठाएका हुन् । ४० थान १० लिटरका अक्सिजन कन्सनट्रेटर बुधवार नेपाल आइपुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयबाट आवश्यक प्रक्रिया पुरा गरी प्राप्त गरेको ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारीले जानकारी दिनुभयो । चीनबाट खरिद गरी पठाइएका ती अक्सिजन कन्सनट्रेटर बुधवार ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारी र समाजका नेपाल प्रमुख विनोद पोखरेलले संयुक्त रुपमा बुझ्नुभएको हो ।अध्यक्ष अधिकारीले प्राप्त भएका अक्सिजन कन्सनट्रेटर गोरखाका विभिन्न अस्पताल तथा आइसोलेसनलाई उपलब्ध गराउने जानकारी दिनुभयो । ग्लोबल गोरखा समाजका उपाध्यक्ष तथा स्वास्थ्य विभाग प्रमुख गोकर्ण ढकालले चीनबाट खरिद गरी उक्त अक्सिजन कन्सनट्रेटर नेपाल पठाएको बताउनुभयो । नेपालमा कोरोना महामारी भयावह रुपमा बढिरहेको र अक्सिजन नपाएर अकालमा मृत्युवरण गरिरहेको घटनाले दुखी बनाएपछि अभियान सञ्चालन गरी रकम सङ्कलन गरेर अक्सिजन कन्सनट्रेटर नेपाल पठाइएको ढकालले बताउनुभयो ।ग्लोबल गोरखा समाजले कम्तीमा गोरखाका १ स्वास्थ्य चौकीमा १ अक्सिजन कन्सनट्रेटर, १ प्राथमिक उपचार केन्द्रमा २ अक्सिजन कन्सनट्रेटर र १ हस्पिटलमा ४ अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने उद्देश्यका साथ ‘एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान ’अभियान सञ्चालन गरिरहेको छ समाजका कोषाध्यक्ष आकाश बन्जाराले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्