तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख सापकोटा बाढीग्रस्त क्षेत्र मेलम्चीमा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आज सिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत रुपमा जानकारी लिनु भएको छ । हिजो साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षतिबारे स्थल मार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै मेलम्ची पुग्नु भएका सभामुख सापकोटाले यस सम्बन्धमा मेलम्ची नगरपालिका प्रमुख र सम्बद्ध पक्षसँग विस्तृत जानकारी लिनु भयो । नगर प्रमुख डम्बर अर्यालले अहिले सम्मका उद्धार, राहत र भए गरेका कामबारे संक्षिप्त जानकारी दिनुभयो ।

मेलम्ची नगरपालिकामा भएको छलफलमा सभामुख सापकोटाले बाढीपछि अवरुद्ध फोन, इन्टरनेटलगायतका सूचना तथा सञ्चार क्षेत्र, विद्युत् र सडकहरू तत्काल सुचारु गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कार्य अघि बढाउनु पर्ने बताउनुभयो । उहाँले उद्धार कार्य र बाढीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिँदै आफ्नो तर्फबाट आवश्यक पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

सभामुख सापकोटाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर उद्धार, राहत, विस्थापितहरूको अस्थायी बसोबास एवं पुनस्थापनाको काम अघि बढाउन सबैमा अपिल गर्नुभयो ।  

सभामुख सापकोटाको प्रमुख आतिथ्यतामा नगरपालिकामा भएको सर्वपक्षीय छलफलबाट बाढीका कारण पीडामा परेका नागरिकलाई तत्काल राहत वितरणलगायतका कार्य गर्न जिसस प्रमुख कृष्ण गोपाल तामाङको संयोजकत्वमा ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन भएको छ ।

बाढीबाट विस्थापितहरूलाई तत्काल राहतका लागि सभामुख सापकोटाको पहलमा उपलब्ध भएका खाद्यान्न लगायतका राहत सामाग्री उहाँको उपस्थितिमा आजै नवगठित ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ लाई हस्तान्तरण गरिएको छ । समितिले बाढी पीडितका लागि प्राप्त भएका र आगामी दिनमा प्राप्त हुने सबै खाले राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्ने निर्णय गरेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button