मध्यपहाडी केही बेर खुलेर फेरि रोकियो
पर्वत । पर्वतमा पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग दिउँसो एकै छिन सञ्चालन भएर फेरि अवरुद्ध भएको छ । पानी पर्न कम भएपछि खुलाइएको सडक फेरि पहिरो झरेपछि अवरुद्ध भएको छ ।
दिउँसो केही बेर रोकिएका सवारीसाधानहरु पार भएपछि वर्षा बढेको र त्यसपछि फेरि पहिरो झरेर सडक पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिनुभयो । पानी पर्न कम भएपछि खुलाएको सडक पानी बढ्न थालेपछि आएको पहिरोले रोकिएको पौडेलले बताउनुभयो । कालीगण्डकी लोकमार्गको जलजला खण्ड पनि अहिले सम्म सुचारु हुन सकेको छैन ।
कालीगण्डकी कोरिडोर दर्जनौँ ठाउँमा पहिरोले रोकिएको छ । निरन्तर वर्षा भइरहेको र पहिरो झर्ने क्रम नरोकिँदा सोमवार राती देखि बन्द भएका सडक खुल्न सकेका छैनन् । सडक बन्द हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाको सडक सम्पर्क टुटेको छ ।
वैकल्पिक सडक नहुँदा सवारीसाधानहरु बाटोमै अलपत्र परेका छन् । जिल्लाका अधिकांश ग्रामीण सडकहरू पनि पहिरोले अवरुद्ध भएका छन् ।









प्रतिक्रिया राख्नुहोस्