लुम्बिनीमा बाढी : राजमार्ग अवरुद्ध, नदी क्षेत्रमा बढ्यो जोखिम
रुपन्देही । तीन दिनदेखि निरन्तर आएको वर्षापछिको बाढी र पहिरोले जनधनमा ठुलो क्षति पुर्याएको छ । पाल्पामा पहिरोमा परी एक जनाको ज्यान गएको छ भने प्युठानमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।
पाल्पामा पहिरोले पुरेर एक युवकको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा आएको पहिरोमा परेर १९ वर्षीय मदन भट्टराईको मृत्यु भएको पाल्पाका एसपी सन्तोष भट्टराईले बताउनुभयो । मङ्गलवार साँझ खसेको पहिरोमा पुरिएपछि गम्भीर घाइते भएका भट्टराईको उपचार गर्न पाल्पा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
यसै गरी बाढीले प्युठानमा एक जनालाई बगाएको छ । मल्लरानी गाउँपालिका–३ धरमपानी, बर्बोटका ४५ वर्षीय हिराबहादुर नेपाली बेपत्ता भएको प्रहरीले जनाएको छ । चुजाठाटी प्रहरी चौकीका इन्चार्ज रामबहादुर रानाका अनुसार मङ्गलवार साँझ घर फर्कने क्रममा नेपालीलाई खोलाले बगाएको हो ।
प्रदेशका नदीमा पानीको बहाव उच्च हुँदा आसपासका बस्ती असुरक्षित भएका छन् । लगातारको वर्षाले तराईका जिल्लामा डुबान शुरु भएको छ भने बाढी र पहिराले विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् । वर्षाले रुपन्देहीको तिनाउ नदीमा जल सतह बढेकाले आसपासका बस्ती असुरक्षित भएका छन् । त्यसै गरी गुल्मीको काली गण्डकी नदी, बढीघाट खोला, राप्ती नदीमा पानीको सतह बढेपछि बाँके र दाङका दर्जनौँ बस्ती जोखिममा छन् ।
गुल्मीको बढीगाड नदीमा बाढी आउने सम्भावना रहेको भन्दै जन तथा मौसम विज्ञान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पाल्पास्थित रुद्रबेनी जल मापन केन्द्रले बढीगाडमा पानीले जल सतहले सतर्कता तह पार गरेकाले बाढी आउने सम्भावना बढेको महाखाले जनाएको छ । वर्षासँगै हिजोदेखि बन्द भएको पूर्व–पश्चिम राजमार्ग अझैसम्म खुल्न सकेको छैन ।
महेन्द्र र सिद्धार्थ राजमार्ग अवरुद्ध
मङ्गलवारदेखि बन्द रहेको पूर्वपश्चिम राजमार्ग आज पनि खुल्न सकेन । रुपन्देहीको देवदह–बुटवल सडक खण्डअन्तर्गत चरङ्गे नजिकै डाइभर्शन गरेको सडक भासिएपछि बुटवल– नारायणगढ सडक बन्द भएको हो ।
बाढीले रोड डिभाइडर बगाउँदा महेन्द्र राजमार्गको बुटवल–बर्दघाट सडक खण्ड अवरुद्ध भएको छ । रुपन्देहीको देवदह नगरपालिका १० चरंगे जङ्गलनजिक निर्माणाधीन पक्की पुलको छेउमा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाउँदा सडक अवरुद्ध भएको हो ।
पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड विस्तारको क्रममा चार लेनको पक्की पुल बनाउन सो ठाउँमा सवारी ओहोर दोहोर गर्न अस्थायी डाइभर्सन बनाइएको थियो । बाढीका कारण डाइभर्र्सन भासिएर पानीले बगाउँदा हिजो मध्यान्न साढे १२ बजे देखी सडक अवरुद्ध भएको र सयौँ सवारी साधन र हजारौँ यात्रुहरू अलपत्र परेको प्रहरीले जनाएको छ ।निरन्तरको झरी र खोलामा बाढी आइरहेकोले पुनः डाइभर्सन निर्माण गरी सञ्चालन गर्न कठिनाइ भइरहेको पनि प्रहरीले जनाएको छ ।
पहिराका कारण पाल्पा–बुटवल सडक खण्ड पनि अवरुद्ध छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै झन्डै ५० मिटर सडक बगाएको छ । डुम्रे खोलामा पानीको बहाव बढेको र माथिबाट खसेको पहिराले राजमार्ग अवरुद्ध भएको हो । यही स्थानमा अघिल्लो वर्ष पहिरो खसेको थियो । मङ्गलवार दिउँसो खोला बढ्दै गएपछि तल्लो भागबाट कटान शुरु गरेको र माथिबाट पहिरो खसेपछि राजमार्ग नै बगाएको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए । वर्षा नरोकिएकाले पहिरो हटाउन समस्या भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी साधनका चालक र यात्रु भने अलपत्र छन् । यसै गरी लगातार परेको वर्षाका कारण लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुर डुबानमा परेको छ । तिनाउ र दानव नदीको सङ्गम स्थल दुई मुहानदेखि तीन किलोमिटर तल रहेको उक्त गाउँमा मङ्गलवार राति बाढी पसेको हो । घरहरूमा पानी पस्न लागेपछि सशस्त्र प्रहरी बल दुईमोहानको टोलीले डुबान क्षेत्रमा परेकालाई उद्धार गरेको छ । अहिले पनि उक्त क्षेत्रमा पानीको बहाव र सतह बढ्दो अवस्थामा रहेकाले इलाका प्रहरी कार्यालय लुम्बिनीको टोली पनि उद्धारमा खटेको छ । सो टोलीले दुई दिने सुत्केरीसहित सात जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ ।
डुबानमा परेकामध्ये केहीले छिमेकीको घरमा र केहीले सामुदायिक बीउ भण्डार लगायतका स्थानमा आश्रय लिएका छन् । राप्ती नदीमा पानीको सतह बढ्दा दर्जनौँ गाउँ जोखिममा तीन दिनदेखिको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि बाँकेका दर्जनौँ गाउँ डुबानको उच्च जोखिममा परेका छन् ।
कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जल सतह सतर्कताको विन्दु पाँच मिटर पार गरिसकेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । उनका अनुसार वर्षा नरोकिएकाले राप्ती नदीमा जल सतह बढ्दै जाँदा बाढी गाउँ पस्न सक्ने जोखिम बढेको छ । दाङ, रोल्पा, प्युठानमा लगातार पानी परेकाले नदीको सतह बढेको हो ।
राप्तीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि डुबानको खतरा मानिन्छ । बिहानबाट नदी क्रमिक रूपले बढ्दै गएको छ । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको सूचना अधिकृत ज्ञवालीले बताए । राप्ती नदीको बाढी तल्लो तटीय क्षेत्रमा आइपुग्न करिब चारदेखि पाँच घण्टा समय लाग्ने अनुमान गरिन्छ । कुसुममा पानीको सतह पाँच मिटर पुग्ने बित्तिकै खतरा स्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ । नदीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुग्ने बित्तिकै राप्ती नदी आसपासका दर्जनौँ गाउँ डुब्ने गर्छन् ।
भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रूपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा डुबानमा पर्दै आएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नदीमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीजन्य प्रकोपको पूर्व तयारीका लागि राप्ती नदी, मान खोला, किरण नाला, डुडुवा नालालगायतका जोखिमयुक्त क्षेत्रमा हुन सक्ने कटान तथा बाढीका कारण हुने क्षति न्यूनीकरणका लागि समयमै रोकथाम तथा आपत्कालीन तटबन्धका लागि कार्य गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने गरेको उनको भनाइ छ ।
बाँकेमा यस वर्षको विपद्बाट २५ हजार घरपरिवारका डेढ लाख सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको छ । त्यसै गरी मनसुनबाट करिब १० हजार घरपरिवारका ५० हजार मानिस प्रभावित हुने अनुमान छ । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीजन्य विपद्बाट उच्च जोखिमयुक्त क्षेत्र, परिवार सङ्ख्या र सुरक्षित स्थानको पहिचान अविलम्ब गर्ने, पालिकाभित्र भएको विपद्मा प्रयोग हुने स्रोत साधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने, विपद् सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रुत लेखाजोखा र घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने, नदी तथा खोलामा पानीको सतह बढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने, पौडी खेल्नेजस्ता कार्य रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो ।
राप्ती नदीको बाढीमा फसेका चारको उद्धार अविरल वर्षातका कारण दाङको राप्ती नदीमा पानीको बहाव बढेपछि नदीको बीचैमा भैँसी चराउन गएका चार फसेकाको उद्धार गरिएको छ । लमही नगरपालिका–७ हस्नापुर र राजपुर गाउँपालिकाको बेला घाटको टापुमा राजपुर गाउँपालिकाका तीन र लमही नगरपालिकाका एक जना फसेका थिए । लमही–७ का ४८ वर्षीय मनराम चौधरी, राजपुर–२ का ४५ वर्षीय सावित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर–३ का २६ वर्षीय गणेश यादव नदीको टापुमा भैँसी चराउँदै गरेको अवस्थामा नदीमा पानीको बहाव बढेपछि नदीको बीचैमा फसेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । मङ्गलवार बेलुका टापुमा फसेको जानकारी भए पनि लगातारको वर्षाका कारण उनीहरूको उद्धारमा कठिनाइ भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख विश्वप्रकाश अर्यालले बताउनुभयो । उद्धारका लागि २५ सशस्त्र प्रहरी खटिएको उहाँले जानकारी दिनुभयो ।
रुपन्देहीको तिनाउका दर्जनौँ बस्ती जोखिममा
रुपन्देहीको तिनाउ र दानव नदीमा आएको बाढीले नदी किनारका दर्जनौँ बस्ती उच्च जोखिममा परेका छन् । बाढीले नदी किनारमा तीव्र रूपले कटान गर्न थालेपछि कयौँ घर परिवार विस्थापित भएका छन् भने दर्जनौँ घरमा क्षति पुगेको छ ।
तिनाउ र दानव नदीमा आएको बाढीको तीव्र बहावका कारण बुटवलका सुन्दरनगर, पबित्रनगर, देवीनगर, माझगाँउ, बुद्धनगर, बिनापाते लगायतका बस्तीका कयौँ घरमा बाढी पसेर क्षति पुर्याएको छ । यसै गरी सिमानगर, सिर्जनानगर, मैनाबगर लगाएतका क्षेत्रमा पनि बाढीका कारण क्षति पुगेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
बुटवल उपमहानगर प्रमुख शिवराज सुबेदीले बाढीका कारण तिनाउ नदी किनारको एक घर पूर्णरुपले बगाएको र दर्जनौँ घरमा बाढी पसेर क्षति पुराएको बताएका छन् । बाढीका कारण हुनसक्ने धनजनको क्षति न्यूनीकरण गर्न र सजगता अपनाउन सबैलाई उपमहानगर प्रमुख सुबेदीले आग्रह गरेका छन् ।
बुटवल ११ का वडाध्यक्ष रामचन्द्र खनालले तिनाउमा आएको बाढीले देवीनगर र रानीगन्जमा दर्जनौँ घरमा पसेर क्षति पुर्याएको बताउनुभयो । खनालका अनुसार तिनाउ किनारको एउटा घर बगाएको छ भने पवित्र नगरका ५/७ वटा घर खोलामा झुन्डिएको अवस्था छ । खोलाको बहावलाई दिशा परिवर्तन गरी घर टहरा बचाउने प्रयास भइरहेको छ । अध्यक्ष खनालका अनुसार तिनाउ र दानवले गएराती खतराको तह पार गरी बस्तीमा बाढी पसेको हो ।
पहाडी जिल्ला जोड्ने सबै सडक बन्द
तीन दिनदेखि निरन्तर आएको वर्षापछि आएको पहिरोले लुम्बिनी प्रदेशका पहाडी ६ जिल्लाका सदरमुकाम पुग्ने सडक अवरुद्ध भएका छन् ।
अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका धेरै सडकहरू अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेशको पहाडी क्षेत्रका अधिकांश सदरमुकामहरू पुग्ने सडक सम्बन्ध विच्छेद भएको छ भने सहायक मार्गहरू पनि अवरुद्ध भएका छन् । राजमार्गसँग जोडिने पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पुग्ने सबै सडकहरू ठाउँ ठाउँमा पहिरो खसेका कारण बन्द भएको छ ।
त्यसै गरी सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डमा कम्तीमा आधा दर्जन स्थानमा पहिरो गएको छ भने बर्तुङ राम्दी खण्ड, तानसेन रिडी, रिडी तम्घास र रिडी वामीटक्सार खण्ड पनि बन्द रहेका प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा प्रहरी प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेले बताउनुभयो । कपिलवस्तुको गोरुसिङ्गे सन्धिखर्क सडकको फुदवाङ, प्युठान भालुवाङ सडकको सर्मरानी ४ खहरेखोलामा सडक बन्द हुँदा रोल्पा, प्युठानसँगको सडक सम्बन्ध विच्छेद भएको डिएसपी पाण्डेले बताउनुभयो ।










प्रतिक्रिया राख्नुहोस्