तपाईँ सुन्दै हुनुहुन्छः

दुई दिनदेखि अवरुद्ध राजमार्ग खुलाउन समस्या

बैतडी। सडक माथिबाट पहिरो खस्दा दुई दिनदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलाउन समस्या भएको छ । बैतडीको खोड्पेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध बनेको थियो ।

लगातारको वर्षाका कारण सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । सडक माथिबाट ठुलो पहिरो खसेको र पहिरो पन्छ्याउन समस्या भएको हो । उहाँले भन्नुभयो, “जेसिबी मङ्गलवार देखी तयारी अवस्थामा रहेको छ, लगातारको वर्षाले पहिरो खस्ने क्रम नरोकिएकाले पन्छाउन समस्या भएको छ ।”

राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरू दुई दिनदेखि बिच बाटोमै रोकिएका छन् । बझाङबाट धनगढी, महेन्द्रनगर, काठमाडौँ, डडेलधुरा, बैतडी र बझाङ भित्रिने ५० भन्दा बढी सवारी साधन र १०० भन्दा बढी यात्रुहरू पहिराका कारण रोकिएका प्रहरीले जनाएको छ । पहिराका कारण उक्त राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button