तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा ४ हजार ९१५ ज्येष्ठ नागरिकले लगाए कोरोना विरुद्धको खोप, आधाभन्दा बढी बाँकी

तनहुँ । तनहुँमा ज्येष्ठ नागरिकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउनुभएको छ । पहिलो डोज सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउन भनेतापनि पछि अन्तिम समयमा ६२–६४ उमेर समूहलाई खोप लगाउने निर्देशन भएको थियो ।

सरकारको निर्देशानुसार तनहुँमा गत जेठ २५, २६ र २७ गते सञ्चालन गरेको खोप केन्द्रबाट लक्ष्यको ८३ प्रतिशत ज्येष्ठ नागरिकले मात्र खोप लगाउनुभएको हो ।

जिल्लामा ६२ देखि ६४ वर्ष उमेर समूहका ५ हजार ९११ जना रहे पनि खोप भने ४ हजार ९१५ जनाले मात्रै लगाएका छन् । जसमा पनि केही स्थानीय तहमा ६२–६४ उमेर समुहम्का जेष्ठ नागरिक खोप लगाउन नआएपछि ६० र ६१ वर्षका जेष्ठ नागरिकलाई समेत खोप दिइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

केही डरले त केही सरकारले जारी गरेको निषेधाज्ञाका कारण खोप अभियानमा सहभागी हुन सक्नुभएन।तनहुँमा १२ हजार १६९ जना जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनु पर्ने छ । तर खोप भने लक्षित वर्गका लागि सङ्घीय सरकारबाट ४ हजार ९२० डोज भेरोसेल खोप प्राप्त भएको सो कार्यालयले जनाएको छ ।

यसका लागि जिल्लाका १० वटै स्थानीय तहको वडा स्तरमा ९७ खोप केन्द्र सञ्चालन गरिएको थियो ।सो केन्द्रबाट ४ हजार ९१५ जन ज्येष्ठ नागरिकले मात्र कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी जानकारी दिनुभयो ।

कार्यालयका अनुसार व्यास नगरपालिकामा १२१४, भानु नगरपालिकामा ७२५, म्याग्दे ३०६, शुक्लागण्डकी नगरपालिकामा ७०७, भिमाद नगरपालिकामा ५७४, घिरिङ गाउँपालिकामा २८७, रिसिङ गाउँपालिकामा २९८, देवघाट गाउँपालिकामा २४८, बन्दिपुर गाउँपालिकामा ३०१ र आबुखैरेनी गाउँपालिकामा २५५ जना ज्येष्ठ नागरिकले सो खोप लगाएका छन् ।

५ डोज बिग्रेको हुँदा प्रयोग नगरिएको स्वास्थ्य कार्यालय तनहुँले जानकारी दिएको छ । जसमा व्यास नगरपालिकामा २ डोज, शुक्लागण्डकी नगरपालिकामा २ डोज र भिमाद नगरपालिकामा १ डोज बिग्रिएको शङ्का लागेर प्रयोग गरिएन ।

पहिलो डोज लगाएका जेष्ठ नागरिकलाई खोप लगाएको एक महिना पछि दोस्रो डोज खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका कोल्ड चेन अधिकृत वीरेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो ।

जिल्लामा आधा भन्दा बढी जेष्ठ नागरिक खोप लगाउन बाँकी रहेका छन् । खोप आएपछि बाँकीलाई लगाइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button