तपाईँ सुन्दै हुनुहुन्छः

खोजी, उद्धारमा जुट्न अध्यक्ष दाहालको आग्रह

काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरामा परी हराइरहेका नागरिकको खोजी, उद्धार तथा राहतका लागि सरकारसँग आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले आज एक विज्ञप्तिमार्फत पीडितको तत्काल उद्धार, राहतमा जुट्न र राहतलाई प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्नुभएको हो । उहाँले बाढी पहिरो प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा खट्नका लागि पार्टीको सम्पूर्ण पङ्क्तिलाई एकीकृत रूपमा परिचालित हुनसमेत आग्रह गर्नुभएको छ ।

यस्तै, अध्यक्ष दाहालले विपद्मा परेर ज्यान गुमाएका परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न, बेपत्ताको खोजी गर्न तथा घाइतेको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्नसमेत माग गर्नुभएको छ । मौसमविद्को पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरूको अनुभव समेतको बेवास्ता गर्ने सरकारी रबैयाका कारण पनि जनधनको क्षति भएको अध्यक्ष दाहालको भनाइ छ । यस्तै, माओवादी केन्द्रको सहायक सङ्गठन वाइसिएल नेपालले समेत बाढी पहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले जारी गर्नुभएको विज्ञप्तिमा खोज, उद्धार र राहत कार्यमा जुट्न आग्रह गरिएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button