तपाईँ सुन्दै हुनुहुन्छः

अझै तीन दिन भारी वर्षा हुने ,यी नदीमा आउन सक्छ बाढी ? हेर्नुहोस् बाढी पूर्वानुमान शाखाको सूचना

काठमाडौँ।जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा औँल्याएको छ । महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ । यो वायुको प्रभावले आगामी शनिवार सम्म नै देशका अधिकांश भागमा भारी वर्षा हुने सम्भावना देखिएको छ ।

“मनसुनी वायुको प्रभावले अहिले देशका अधिकांश भागमा अहिले वर्षा भइरहेको छ”, बासीले रासससँग भन्नुभयो, “यो वायुको प्रभावले आगामी शनिवार सम्मै देशका अधिकांश भेगमा भारी वर्षा हुने योग छ । त्यसपछि भने यो क्रममा ब्रेक लाग्नेछ ।”

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिनभर र राति कर्णाली, वाग्मती प्रदेशमा भारी र लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना छ । त्यसैले महाशाखाले यी क्षेत्रमा बाढी पहिराको खतरा औँल्याएको छ ।

“कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको केही भूभागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको हुनाले उक्त प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ”, महाशाखाको बुलेटिनमा उल्लेख छ । महाशाखाको नियमित बुलेटिनअनुसार, वर्षाको यो क्रमले बिहीबार र शुक्रवार पनि देशभरि निरन्तरता पाउनेछ ।

पछिल्लो २४ घण्टामा धेरै पानी पर्ने स्थानको पहिलो नम्बरमा पोखरा दरिएको छ । महाशाखाका अनुसार, यहाँ ११०.५ मिलिलिटर पानी परेको छ । पोखरापछि भैरहवामा सबैभन्दा धेरै ८२.२ मिलिलिटर पानी प¥यो । महाशाखाका अनुसार काठमाडौँमा पछिल्लो २४ घण्टामा १२.४ मिलिलिटर मात्र पानी परेको छ ।

मौसम विश्लेषण 

देशभरी मनसुनी वायुको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था 

हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असार २  गते (बुधबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

२०७८ असार ३  गते (बिहीबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, प्रदेश न.१ र वागमती प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

२०७८ असार ४  गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केहि भू-भागमा भारि वर्षा र थोरै स्थानमा धेरै भारि वर्षा हुने सम्भावना रहेको हुनाले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

बाढी पूर्वानुमान शाखाले आज कहाँ कहाँ बाढी आउँछ भनेर पूर्वानुमानसहितको सूचना जारी गरेको छ।नारायणी, कर्णाली र यसका सहायक नदीमा भने पानीको बहाव केही बढ्ने शाखाले जनाएको छ । यस्तै, कन्काई, कमला, बागमती र यसका सहायक नदी, कोशी, महाकाली र यसका सहायक नदीमा पानीको बहाव सामान्यत रहने र सर्तकता तह भन्दा तलै हुने पूर्वानुमान गरिएको छ ।

तराई र चुरेको भूभाग भई बहने साना नदीमा बाढी आउने सम्भावना रहेको शाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button