तपाईँ सुन्दै हुनुहुन्छः

नदी छेउछाउका बस्तीमा सतर्कता अपनाउन आग्रह

मार्तडी। जिल्लामा लगातार अविरल वर्षासँगै मनसुन सक्रिय भएपछि खोला तथा नदीमा पानीको बहाव बढ्दै गएकाले नदी छेउछाउमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ ।

लगातार वर्षा भइरहेकाले बाढी पहिरो आउने भएकाले नदी छेउछाउ नजान सार्वजनिक सूचनामार्फत आग्रह गरिएको हो । मङ्गलवार प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा अविरल वर्षाले अप्रिय घटना घट्न सक्ने भएकाले विपद्बाट बच्नका लागि समयमै सतर्कता अपनाउन अपिल गरिएको छ ।

पहिरोको जोखिममा रहेका घर तथा बस्तीमा बसोबास गर्ने नागरिकलाई वर्षा धेरै भई पहिरोको त्रास भएमा नगरपालिका वा गाउँपालिकाले तोकेको सुरक्षित स्थलमा वा छिमेकीको घरमा जान जोखिमबाट टाढा रहन आग्रह गरिएको प्रजिअ अधिकारीले राससलाई जानकारी दिनुभयो । बाढी, पहिरोलगायतका विपद्का घटना हुने आशङ्का लागेमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको हटलाइन ९८५८४९००५३ वा जिल्ला प्रशासन कार्यालय बाजुरामा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको टेलिफोन नं ९८६४३१४०६६ र ०९७५४१३१४ मा सूचना दिन प्रजिअ अधिकारीले अपिल गर्नुभएको छ ।

बेपत्ता महिलाको शव भेटियो

लगातार अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकी बूढीनन्दा नगरपालिका–३ लौठीरुखकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नगरपालिकामा रहेको बडीगार्ड खोलाले बगाउँदा सोही नगरपालिका–३ की मोतीकला ल्वारको शव करिब २० किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धनदेव साउदले राससलाई जानकारी दिनुभयो ।

बेपत्ता महिलाको स्थानीयवासी र प्रहरीले खोजी गर्दा बडीगार्ड खोलाको कालसिलमा फेला पारेको प्रहरी निरीक्षक साउदले बताउनुभयो । महिलाको शव कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा परीक्षण गरी आफन्तलाई बुझाइएको उहाँले बताउनुभयो ।

सोमबार त्रिवेणी नगरपालिका–५ किम्नीमा खोलाले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक अझै फेला परेका छैनन् । गाउँ नजिकै रहेको किम्नीखोलाले बगाउँदा बेपत्ता भएका बालकको प्रहरी र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेको प्रहरी निरीक्षक साउदले बताउनुभयो । घटनास्थलमा प्रहरीको टोली र स्थानीयवासीले खोजी गरिरहेका छन् तर अहिलेसम्म पनि बालकको शव फेला परेको छैन । जिल्लामा बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । वर्षाका कारण राजमार्ग सडक र ग्रामीण सडकसमेत अवरुद्ध भएका छन् ।

प्रशासनले नागरिकता सेवा दिने शुरु

कोरोना भाइरस महामारीको सङ्क्रमण भएपछि जिल्ला प्रशासन कार्यालय बाजुराले बन्द गरेको नागरिकता सेवा आज बुधवार देखी शुरु गर्ने भएको छ । नागरिकता बनाउनका लागि अत्यावश्यक भएका स्थानीय तहका नागरिकका लागि तालिका सार्वजनिक गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभएको छ ।

महामारीका बेला सङ्क्रमण बढ्न नदिनका लागि जिल्लाका नौ वटै स्थानीय तहका लागि समय तालिका निकालिएको हो । प्रशासनमा भिडभाड हुन नदिन र कोरोना सङ्क्रमणलाई मध्यनजर राख्दै समय तालिका निकालिएको प्रजिअ अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकाका लागि असार २ गते, बूढी गङ्गा नपाका लागि असार ३ गते, खप्तड छेडेदह गाउँपालिका र त्रिवेणी नगरपालिकाका लागि असार ४ गते, बूढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिका लागि असार ६ गते तथा स्वामिकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकाका लागि असार ७ गते नागरिकता बनाउन आउन मिति तय गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

डोटी : जिल्ला प्रशासन कार्यालय डोटीले सेती नदीसहित अन्य स्थानीय तहका नदी तथा खोला आसपासका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । पछिल्लो केही दिनयतादेखि भइरहेको लगातारको वर्षाका कारण सेती नदीसहितका अन्य खोलामा पानीको बहाव बढ्दै गएकाले खतरा हुनसक्ने भन्दै नदी आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

प्रशासनले वर्षासँगै बाढी पहिरोको समय शुरु हुन लागेकाले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकाले आम नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासनद्वारा जारी सूचनामा बाढी आएको समयमा नदीमा माछा मार्ने, पौडी खेल्ने र दाउरा सङ्कलनको काम नगर्न/नगराउन अनुरोध गरिएको छ । यसै गरी यहाँको प्रहरीले नदी आसपासका क्षेत्रमा आफ्नो गस्तीसमेत बढाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दानबहादुर मल्लका अनुसार नदी आसपासका नागरिकलाई वर्षाको समयमा नदी तथा खोला छेउमा नजान आग्रहसहित प्रहरी टोलीले दैनिक जसो अनुगमन तथा माइकिङ गर्न थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button