प्रदेश २ सरकारबाट ३३ अर्ब भन्दा बढीको बजेट पेस

जनकपुरधाम । प्रदेश नंं २ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार आय व्ययको बजेट प्रस्तुत गरेको छ ।
प्रदेश नंं २ को प्रदेश सभा बैठकमा प्रदेश नंं २ को आर्थिक विकास तथा योजना मन्त्री विजय कुमार यादवले उक्त बजेट पेस गर्नुभएको छ । प्रस्तुत गरिएको बजेटमा चालु तर्फ १५ अर्ब ६३ करोड ३९ लाख ४७ हजार अर्थात् ४६.२६ प्रतिशत तथा पुँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात् ५३.४४ प्रतिशत विनियोजन गरिएको छ ।
प्रस्तुत गरिएको बजेटको श्रोतमा आन्तरिक श्रोतबाट प्राप्त हुने राजश्व वाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार बेहोर्ने छ भने नेपाल सरकारको अनुदानबाट १३ अर्ब ९ करोड ३४ लाख, राजश्व वाडफाडवाट ९ अर्ब ५८ करोड ७९ लाख, चालु आर्थिक वर्षको राजश्व बचतबाट ६ अर्ब २५ करोड बेहोर्ने प्रदेश २ को आर्थिक विकास तथा योजना मन्त्री यादवले पेस गर्नु भएको बजेटमा उल्लेख रहेको छ ।
कूल अनुमानित बजेटमा न्यून हुने १ अर्ब आन्तरिक ऋण परिचालन गरेर बेहोर्ने बजेट वक्तव्यमा उल्लेख रहेको छ ।
प्रदेश सरकारको बजेटमा कोरोना उपचार तथा नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर २० करोड रकम विनियोजन गरेको छ । उक्त रकमबाट औषधिको खरिद, उपचार, अक्सिजन सिलिन्डर, रेंमडिशिविर औषधि, रिएजेन्ट सहितको स्वास्थ्य सामाग्रीहरू खरिद गरिने उल्लेख रहेको छ । यसका साथै कोरोना अस्पतालको निर्माणका लागि बजेटको विनियोजन गरेको छ ।
प्रदेश सरकारले विनियोजन गरेको बजेटमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १० करोड, प्रादेशिक अस्पतालमा विभिन्न उकरणहरुको खरिदका लागि १९ करोड रकम विनियोजन गरेर स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गरेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको क्षमता विकास गर्नका लागि पनि बजेट विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख रहेको छ ।
यसका साथै ३५ वटा डायलाईसिस मेसिन खरिद गर्नका लागि १२ करोड रकम विनियोजन गरिएको छ । परम्परागत स्वास्थ्य प्रणालीको विकासका लागि बजेट विनियोजन गरेको छ । प्रत्येक जिल्लामा नमूना विद्यालयका लागि २४ करोड रकम विनियोजन गरेको छ ।
यसैगरि प्रदेश निर्वाचन क्षेत्र कार्यक्रमका लागि २ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ । जून एउटै शीर्षकमा सबै भन्दा ठुलो रकम प्रदेश सरकारको बजेटमा उल्लेख रहेको छ । यसका साथै मुख्यमन्त्री बेटी पढाऊँ बेटी बचाऊँ कार्यक्रमलाई निरन्तरता दिँदै २० करोड रकम विनियोजन गरिएको छ ।
यसैगरि भौतिक विकासका लागि ६७ करोड विनियोजन गरिएको छ । स्वर्गीय महेन्द्र नारायण निधि आवास निर्माण कार्यक्रमका लागि ४१ करोड रकम विनियोजन गरेको छ । बजेटमा कृषि, उद्योग, पर्यटन क्षेत्रको विकास, युवा रोजगारलाई उच्च प्राथमिकतामा राखेर बजेटको विनियोजन गरेको प्रदेश २ को आर्थिक विकास तथा योजना मन्त्री विजय कुमार यादवले पेस गर्नुभएको बजेटमा उल्लेख रहेको छ ।
यसका साथै मझौला सिँचाइका लागि ४१ करोड, मुख्यमन्त्री स्वच्छता अभियानलाई निरन्तरता दिँदै ३१ करोड रकम विनियोजन गरेको छ । यसका साथै चिस्यान केन्द्रको निर्माण, कृषि सडकको निर्माणमा जोड दिइएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर पक्की सडक निर्माण कार्यक्रमलाई अगामी आर्थिक वर्षमा निरन्तरता दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्