तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले ५ घर विस्थापित

बागलुङ । निरन्तर वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथि र घरमुनिबाट पहिरो गएपछि पाँच परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

सदरमुकाम बागलुङ बजार हुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिदा घरमाथि पहिरो आएको हो । जिरेदीका चित्र बहादुर कार्कीको घर माथिबाट पहिरो आएको वडा अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । सोही ठांउका बलबहादुर जिसी, कृष्ण जिसी लगायतका घर पहिरोको उच्च जोखिममा छन् । 
सबै परिवारका सदस्यहरूलाई अन्यत्रै सार्ने काम भइरहेको छ । वर्षा र पहिरो नरोकिएकाले पहिरोले घर पुर्न सक्ने भएकाले विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको लामिछानेले बताउनुभयो  ।

पहिरोका कारण बागलुङ सदरमुकाम र स्थानीय तहहरूबिचको सडक सञ्जाल टुटेको छ । कालिगण्डकी करिडोरको मालढंगामा पहिरोले अवरुद्ध गरेको छ । बागलुङ कुश्मीशेरा सडक, बागलुङ बरेङ सडक, मध्य पहाडी लोकमार्ग र पालिका मुकामहरूबाट वडा कार्यालय तथा गाउँ बस्तीहरू जोड्ने सबै सडकहरूमा ठाउँ ठाउँमा पहिरो खसेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button