निषेधाज्ञाको कारण वीरगंजमा आजबाट सञ्चालन हुने भनिएका विद्यालय खुल्न सकेनन्
वीरगंज । वीरगंज महानगरपालिकाले आजबाट नगर क्षेत्रका विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि स्थानीय प्रशासनले असार ६ गते सम्म जारी गरेको निषेधाज्ञाले विद्यालय सञ्चालनको कार्यतालिका प्रभावित भएको छ ।
चैत्रको अन्तिम साता देखि शुरु भएको कोरोना सङ्क्रमणको दोस्रो लहर समेत नियन्त्रणमा आएसँगै वीरगञ्जमा असार १ देखि विद्यालय सञ्चालनको तयारी भए पनि स्थानीय प्रशासनले असार ६ गतेसम्म फेरि निषेधाज्ञा थप गरेपछि विद्यालय सञ्चालनको कार्यतालिका प्रभावित भएको हो ।
वीरगंज महानगरपालिकाले जेठ २१ गते नगर क्षेत्रभित्र कोरोना संक्रमण दर घटेको र अस्पतालहरू खाली हुँदै गएपछि कोरोना संक्रमण नियन्त्रणमा आएको भन्दै असार १ गतेदेखि क्रमिक रुपमा कक्षा ८ देखि १२ सम्मको कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
जसमा विभिन्न शर्तहरुको पालना गरी असार १५ गतेदेखि नियमित सम्पूर्ण शैक्षिक संस्थामा पठनपाठन गराउन भनिएको थियो ।
महानगरपालिकाले असार १ गतेदेखि ७ गतेसम्म भर्ना लगायतका व्यवस्थापकीय कार्य गर्ने, असार ८ गतेदेखि १५ गतेसम्म भर्ना सप्ताहअन्तर्गत घरदैलो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको थियो ।
त्यसै गरी असार १५ गतेपछि नियमित रूपले पठनपाठन सञ्चालन गर्ने भनी महानगरपालिकाले विद्यालयमा पत्र समेत पठाएको थियो । महानगरपालिकाको निर्देशन अनुसार विद्यालयहरूले अघिल्लो शैक्षिक सत्रको नतिजा सार्वजनिक गर्नुका साथै वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्न आवश्यक तयारी थालिसकेका छन् ।
तर निषेधाज्ञाले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी भने प्रभावित भएको छ । वीरगञ्जस्थित रेल्वे माविका प्रधानाध्यापक दिनेश चौरसियाले १५ गतेपछि पनि वातावरण अनुकूल भए मात्रै विद्यालय सञ्चालन गर्न सकिने बताउनुभयो ।
यता निजी तथा आवासीय विद्यालयको सङ्गठन प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साहले केन्द्र र पालिकाबाट अर्को निर्णय नआउँदासम्म पछिल्लो सूचनालाई आधार मानेर विद्यालय सञ्चालन गर्ने बताउनुभयो ।
उहाँले आगामी असार ७ गतेपछि निषेधाज्ञा खुकुलो भयो, केन्द्र वा पालिकाले अर्को निर्देशन दिएन भने यसैलाई आधार मानेर अघि बढ्ने समेत बताउनु भयो । वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण स्थिति अनुकूल भएमा असार १५ गतेबाट कक्षा ८ देखि १२ सम्म सञ्चालन गर्न विद्यालयहरूलाई आग्रह गरेको बताउनुभयो ।
यता महानगरपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गर्दा स्थानीय प्रशासनसँग यसअघि समन्वय नगरेको प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्