तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

डडेलधुरा । लगातारको वर्षातका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोडने भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ ।

भिमदत्त राजमार्ग खण्ड अन्तर्गत डोटीको गैरा बजार नजिक सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गाङखेतका इन्चार्ज खगेन्द्र कार्कीले जानकारी दिनु भएको छ । 
पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामाग्री लिएर गइरहेका ५५÷६० र पहाडबाट तराई जाने ४५/५० जति गाडीहरू रोकिएको प्रहरीले जनाएको छ ।

एकाबिहानै आकस्मिक पहिरो आए पछि सवारी साधन बीच बाटोमै रोकिएका कारण बाटो खोल्न दुई डोजरहरू प्रयोगमा रहेको र पहिरो जाने क्रम नरोकिएकोले खोल्न समय लाग्ने इन्चार्ज कार्कीले बताउनुभयो  । दुई दिन देखिको लगातारको वर्षाले ग्रामीण भेगका कच्ची सडकहरू बाढी र पहिरोका कारण पूर्णतया अवरुद्ध भएका छन् । बर्षातले गर्दा खानेपानी र सिचाइका मुहान समेत बगाएको छ । 

जिल्ला सदरमुकाममा रहेको एक मात्रै खानेपानी समेत बर्षातका कारण आज बिहानैबाट अवरुद्ध भएको छ । बाढी र पहिरोका कारण मुहान नै अवरुद्ध भएपछि खानेपानी बन्न केही दिन लाग्ने खंलगा खानेपानी उपभोक्ता समितिका अध्यक्ष रवीन्द्र केसीले जानकारी दिनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button