तपाईँ सुन्दै हुनुहुन्छः

लगातारको वर्षाले सेतिवेणी बजार डुबानमा, १० घर परिवार विस्थापित

फाइल तस्बिर

पर्वत । लगातार परेको अविरल वर्षाका कारण पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नं. ६ सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला र स्याङ्जा तर्फको बजार डुबानमा परेको छ । केही दिनको निरन्तर वर्षाका कारण स्वे क्षेत्र डुबानमा परेको हो ।

स्थानीयका अनुसार बिहान ४ बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि १० घर विस्थापित बनेका छन् । १० घरपरिवार र उनीहरूको पसलमा रहेका सामान र मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बजार र शिला डुबानमा परेसँगै उक्त स्थानका बासिन्दाहरू आतङ्कित बनेका छन् । कालीगण्डकीमा पानीको सतह २८ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्ण रुपमा डुबानमा परेको स्थानीयहरूले बताएका छन् । नदिकाे बहाव उर्लिएर बजार क्षेत्रमै आइपुगेपछि व्यावसायीहरु सुरक्षित स्थानमा सामान सार्न व्यस्त रहेका छन् । बाढीले पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तल लगायतका सबै संरचना समेत डुबाएको छ ।

बजारवासीलाई संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबीन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारहरू पनि पूर्ण रुपमा क्षति पुगेको स्थानीय विनोद शर्माले जानकारी दिनुभयो । यता पानीको बहाव ह्वात्तै बढेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए । काल गण्डकी र सेती खोला दुवैको बहाव उच्च हुँदा समस्या भएको हो ।

मुलुककै सबैभन्दा ठुलो कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीबेणीबजार डुबानको खतरामा पर्ने गरेको हो । सेतीबेणीबजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जा तर्फको बजार क्षेत्रमा झन्डै दुई सय व्यापारी तथा सर्वसाधारण त्रसित छन् ।

विगतमा ११ वर्ष अघि काली गण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार बिस्थापित बनेका थिए । २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरुमा सधैभर त्रास थप्ने गरेको स्थानीय व्यावसायी विष्णु न्यौपानेले बताउनुभयो । स्थानीय प्रहरी चौकीका अनुसार सोमवार राती पानीको बहाव उच्च बढेको बजारसम्मै आइपुगेको जाकारी दिएको छ । कालीगण्डकीमा पानीको सतह बढेपछि काली गण्डकी ए को बाँधका सबै ढोका खोल्न लगाइएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button