तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा निषेधाज्ञा एक हप्ता थपियो

मकवानपुर । मकवानपुरमा कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा एक साताका लागि थपिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले जिल्लाभित्र सङ्क्रमणको जोखिम यथावत् नै रहेको हुँदा निषेधाज्ञा थप गर्न गरेको सिफारिसका आधारमा जेठ ३१ गतेसम्म जारी निषेधाज्ञा केही सहजताका साथ एक साता थप गरेर असार ७ गते राती १२ बजेसम्म पुर्‍याइएको हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवचन्द्र गर्तौलाले यसअघि बिहान ४ बजेदेखि ९ बजेसम्म खाद्य तथा दैनिक उपभोग्य वस्तुको विक्रीका लागि मात्र पसलहरू खुलाइएकोमा अब मोबाइल, कम्प्युटर व्यवसाय पनि १० बजेसम्म सञ्चालन गरिने छ ।
गर्तौलाका अनुसार असार १ गतेबाट खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पसलहरू बिहान १० बजेसम्म सञ्चालन हुने छन् । स्टेशनरी, मोबाइल, अटो, मोटरसाइकल मर्मत सेन्टर पनि बिहान सोही समयमा सञ्चालन हुनेछन् ।
यसअघि हप्तामा ३ दिन मात्र खुल्ने गरेको बैङ्कहरू अव प्रत्येक दिन बिहान १० बजेबाट २ बजेसम्म सञ्चालन हुनेछ । वित्तीय संस्था, सहकारी पनि खुल्नेछन् तर बजारमा पैसा सङ्कलन गर्न भने नपाइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button