अपाङ्गता एवं विपन्न सात परिवारलाई सहयोग
गण्डकी । लायन्स क्लब अफ पोखरा राइजिङ स्टारको चौथो स्थापना दिवसका अवसरमा पोखराका विभिन्न स्थानका अपाङ्गता एवं विपन्न सात परिवारलाई राहत वितरण गरिएको छ ।
कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले जारी गरेको निषेधाज्ञाका कारण रोजगारी गुमेकाको चुल्हो निभ्न बाल्न आज रु एक लाख बराबरको राहत वितरण भएको हो । सो अवसरमा पोखरा–१७, रातो पैह्राका १८ वर्षीय अपाङ्गता भएका पूर्ण थापामगरलाई विस्तारासहित लत्ता कपडा र सरसफाइका सामग्री, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोरोना संक्रमित भई उपचाररत २१ दिने शिशुको परिवारलाई रु।२० हजार आर्थिक सहयोग गरेको क्लबका प्रचार प्रसार संयोजक राजु सुनारले जानकारी दिनुभयो ।
यसैगरी रातो पैह्राका १६ वर्षीय अपाङ्ग सुजन नेपाली, पोखरा १० का कालु गुरुङ, सुमित्रा तामाङ, लामाचौर, चिप्लेढुङ्घा र न्युरोडका अपाङ्गता भएका एवं विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा क्लबका अध्यक्ष चोकबहादुर गुरुङ र प्रथम उपाध्यक्ष टङ्क ढकालले सेवामा समर्पित लायन्सले असहाय एवं विपन्न परिवारलाई आवश्यकताअनुसार सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
फाउण्डेसनद्धारा साढे चार लाखको राहत
बहिनी एडुकेयर फाउन्डेसनले पोखरा–१७ रातो पैह्राका अपाङ्गता भएका १८ वर्षीय पूर्ण थापामगरलाई दश हजार मूल्य बराबरको विभिन्न सामग्री उपलब्ध गराएको छ । सेती नदीको तिरको जस्ताको छाना भएको एउटा कोठामा बस्न बाध्य रोग भन्दा पनि भोकसँग लड्दै आएको अपाङ्गता भएका थापामगरसहित सात जनाको परिवारलाई सहयोग गरिएको संस्थाका अध्यक्ष तथा कार्यकारी प्रमुख सुरेन्द्र परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार पोखरा महानगरपालिका–१३ का गरिब, विपन्न तथा असहाय ७० घरपरिवारका २७५ जनालाई एक लाख ७५ हजार र पोखरा २३ का १०० घरपरिवारलाई दुई लाख ५० हजार मूल्य बरावरको खाद्यान्न सामग्री वितरण भएको हो ।
पोखराको माले पाटनमा कार्यालय रहेको बहिनी संस्थाले एकल महिला तथा आश्रित परिवारलाई शिक्षा, स्वास्थ्य, परामर्श, जीविकोपार्जन लगायतमा सहयोग गर्दै आएको छ ।
रासस








प्रतिक्रिया राख्नुहोस्