विश्व प्रेस काउन्सिलद्वारा अध्यक्ष बस्नेतलाई शुभकामना
काठमाडौँ । विश्व प्रेस काउन्सिलले आफ्नो सदस्य राष्ट्र रहेको प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतलाई कार्यकाल सफलताको शुभकामना दिएको छ ।
आज भएको भर्चुअल छलफलमा विश्व प्रेस काउन्सिलका अध्यक्ष डा सुलेले अकरले काउन्सिलका अध्यक्ष बस्नेतलाई स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना दिनुभयो । बस्नेत गत साता अध्यक्ष नियुक्त हुनुभएको थियो ।
अध्यक्ष सुलेले अभिव्यक्ति स्वतन्त्रताको रक्षार्थ विश्व प्रेस काउन्सिल रहेको भन्दै सन् १९८९ को क्वालालाम्पुर घोषणापत्रमा सो कुरा उल्लेख भएको स्मरण गराउनुभयो । संस्थापक राष्ट्रहरू नेपाल, टर्की, भारत, अजरबैजान लगायतले घोषणापत्रमा उल्लेख भएको कुरालाई निरन्तरता दिएकोमा खुसी व्यक्त गर्नुभयो ।
अध्यक्ष बस्नेतले कोरोना महामारीमा सबै राष्ट्र प्रभावित भएको भन्दै सबैको साथ, सहयोग र सहकार्यबाट नै आचारसंहिताको पूर्ण पालना हुने बताउनुभयो । महामारीबाट विश्वभरका पत्रकार र सञ्चार क्षेत्र नराम्ररी प्रभावित बनेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै उहाँले महामारीमा अखबार, पत्रिका, टिभी च्यानल, अनलाइन र अन्य डिजिटल मिडियाले प्रकाशन–प्रसारणमा असर परेको उल्लेख गर्नुभयो ।
विश्व प्रेस काउन्सिलका महासचिव किशोर श्रेष्ठले नेपालमा कोरोनाबाट सात सय भन्दा बढी पत्रकार प्रभावित बनेको बताउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्