डाक्टरमाथि हातपात गर्नेलाई कारबाहीको माग, तीन जना पक्राउ
सुर्खेत । प्रदेश आयुर्वेद औषधालय सुर्खेतका डाक्टरमाथि हातपात भएको घटनाप्रति सुर्खेतका विभिन्न निजामती कर्मचारीसँगै स्वास्थ्य संघसंगठनहरुले दोषीलाई कडा कारबाहीको माग राखेका छन् ।नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज, मेडिकल ल्याव्रेटरी एसोसिएसन अफ नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल, नेपाल स्वास्थ्य कर्मी सङ्घ नेपाल, निजामती कर्मचारी सङ्गठन आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी युनियन सङ्घ लगायतले आज सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै प्रदेश आयुर्वेद औषधालयका डाक्टर र वैद्यमाथि गरिएको हातपात सुनियोजित भएकाले सत्यतथ्य छानबिन गरी दोषी माथि कडा कारबाहीको माग राखेका हुन् ।
कोरोना आईसोलेशनको डियूटी सकेर बिहीबार साँझ ६ बजेतिर घर फर्किने क्रममा अपरिचित युवाहरूको समूहले प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजाल, डाक्टर यादवप्रसाद उपाध्याय र वैद्य लोकप्रसाद रेग्मीमाथि आक्रमण गरेको थियो ।
औषधालयका डाक्टरहरूमाथि आक्रमण भएको सूचना पाए लगतै सुर्खेत प्रहरीले तीन जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया शुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।
उहाँले सत्यतथ्य छानबिन गरी घटनामा संलग्न अन्य दोषीलाई समेत प्रहरीले खोजतलास गरिरहेकाले छिट्टै कानून अनुसार कारबाही हुनेमा विश्वस्त रहन विभिन्न निजामती कर्मचारीसँगै स्वास्थ्य संघसंगठनहरुलाई आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्