अनलाइनबाट विद्यार्थी भर्ना लिइने

चितवन। विद्यालयहरूले अनलाइन मार्फत भर्ना प्रक्रिया सुरु गर्ने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार यहाँ रहेका सबै विद्यालयहरूले असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न लागेका हुन् ।
कार्यालय प्रमुख भूमिलाल सुवेदीका अनुसार ईन्टरनेटको सुविधा भएको ठाउँमा भर्चुअल माध्यमबाट भर्ना लिइने छ भने अन्य स्थानमा सामाजिक दूरी कायम गरी भर्ना लिइने छ । विद्यार्थीहरूको भविष्यसँग जोडिएकाले भर्ना प्रक्रिया सुरु भएसँगै विद्यालयले पुस्तक खरिद गरी विद्यार्थीहरूलाई उपलब्ध गराउने छन् । अहिले यहाँका सात वटै स्थानीय तहका शिक्षा शाखाहरू नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।
कक्षा आठको नतिजाको समेत अन्तिम तयारीमा लागेकाले त्यस लगत्तै भर्ना अभियान र पठनपाठन सुरु गरिने छ । विद्यालयहरूले भर्ना फारम आफ्नो विद्यालयको वेभसाइटमा राख्ने छन् । सोही साईटमार्फत विद्यार्थीले फारम भरेर विद्यालयलाई बुझाउने छन् । सो फारमको आधारमा विद्यालयले विद्यार्थीसँग भर्चुअल रुपमा अन्तरवार्ता लिई भर्नामा सहभागी गराउने छन् । विद्यार्थी भर्ना प्रक्रियासँगै पठन पाठन पनि भर्चुअल माध्यमबाटै गर्ने छन् ।
अनलाइनको सुविधा नपुगेका विद्यालयहरूले भने भर्नाका लागि सामाजिक दूरी कायम गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक दूरी कायम गरी भर्ना गर्ने छन् । पठनपाठनका लागि वैकल्पिक माध्यम अबललम्बन गर्नुपर्ने छ ।” जिल्लामा ३ सय २३ सामुदायिक र २ सय १६ संस्थागत गरी ५ सय ३९ विद्यालय रहेका छन् । ती विद्यालयमा १ लाख ५४ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।रासस








प्रतिक्रिया राख्नुहोस्