तपाईँ सुन्दै हुनुहुन्छः

फास्ट ट्र्याकमा काम गर्ने मजदुरले पाएनन् ज्याला

सुदूरपश्चिम। निर्माणाधीन खुटिया–दिपायल फास्ट ट्र्याक (द्रुत मार्ग)को निर्माणमा संलग्न निर्माण कम्पनीले एक वर्षभन्दा बढी समयदेखि ज्याला नदिँदा मजदुर समस्यामा परेका छन् । निर्माणमा संलग्न आशिष अनिष्ट निर्माण कम्पनीले सो सडक निर्माणमा लागेका १२५ मजदुरको ज्याला दिन आलटाल गरिरहेको पीडित मजदुर प्रेम आचार्यले गुनासो गर्नुभयो ।

“ज्याला दिन आग्रह गर्दा हुन्छ भन्छन् तर एक वर्षभन्दा बढी समय भइसक्दा पनि ज्याला दिएका छैनन्, अब त फोनसमेत उठाउन छाडिसके”, आचार्यले सुनाउनुभयो, “काम गरेको ज्याला नपाएर १२५ मजदुर पीडित बनेका छौँ ।” निर्माण कम्पनीबाट काम गरेबापतको झन्डै रु ३५ लाख पाउन बाँकी रहेको मजदुरको भनाइ छ ।

फास्ट ट्र्याकको नयाँ कटिङको काम हुँदा जाली बनाउने र त्यसमा ढुङ्गा भर्ने जस्ता काम गराइएकामा कामको ज्याला नपाउँदा बिचल्लीमा परेको अर्का मजदुर मीनबहादुर रोक्का मगरले बताउनुभयो । निर्माण कम्पनीका रोशन आचार्यले भने मजदुरले काम गरेबापतको ज्याला नदिने मनसाय आफूहरूको नरहेको बताउनुभयो । उहाँले सडकमा काम गराउने जिम्मा लिएका नाइके ठेकेदारमध्ये एउटा टोलीलाई भुक्तानी दिन बाँकी रहेको रु नौ लाख ज्याला रकम आगामी केही दिनमा भुक्तानी गर्न लागिएको बताउनुभयो ।

कोरोना सङ्क्रमणको जोखिमका कारण केही महिनादेखि खुटिया—दिपायल फास्ट ट्र्याक निर्माणको काम प्रभावित भएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, धनगढी–दिपायल–चैनपुर–उरै नाका सडक आयोजनामार्फत यो सडकको निर्माणको काम भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button