चलिरहेको सौर्य–वायु ऊर्जा प्राविधिक अभावमा तीन वर्षदेखि अलपत्र

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका स्थित विकट भोर्लेनीका नागरिक हावाबाट बिजुली बाल्न पाउँदा मक्ख परेका थिए । विकट स्थानका नागरिकले २४ सै घण्टा बिजुली बाल्न पाउँदा स्थानीयमा आएको त्यो खुसी भने धेरै दिन टिक्न सकेन । घर नै उडाउला जस्तो गरी वहने हावाबाट बिजुली निस्केर गाउँ नै झलमल हुँनुका साथै विद्युतीकरणले स्थानीयवासीको जीवनशैली समेत फेरिएको थियो ।
२०७२ सालमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय निकाय र समुदायको सामूहिक प्रयासमा भोर्लेनीमा निर्माण गरिएको वायु र सौर्य शक्तिबाट सञ्चालित २५ किलोवाट क्षमताको सो वायु–सौर्य ऊर्जा मिश्रित परियोजना प्राविधिकको अभावमा तीनबर्षदेखि बन्द छ ।
स्थानीय तह आए पछि मर्मत गर्न खोजिए पनि प्राविधिककै अभावमा मर्मत गर्न नसकिएको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले बताउनुभयो ।“हामीले गाउँपालिकाबाट बजेटको व्यवस्था गरेर मर्मत गर्ने प्रयास ग¥यौ, तर प्राविधिक नपाउँदा हुन सकेन” उहाँले भन्नुभयो ।
काभ्रेपलान्चोक र सिन्धुलीको सीमामा पर्ने मकवानपुर जिल्लाको बागमती नदीको किनार भोर्लेनीमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय निकाय र समुदायको सामूहिक प्रयासमा वायु र सौर्य शक्तिबाट २५ किलोवाट क्षमताको सो वायु–सौर्य ऊर्जा मिश्रित परियोजना निर्माण गरिएको थियो ।

केन्द्रले ८९ लाख, तत्कालीन जिविसले पाँच लाख र गाविसले दुई लाख तथा समुदायबाट ३० लाख बराबरको नगद र श्रमदान गरी कूल एक करोड २५ लाखको लागतमा निर्माण भएको उक्त परियोजना करिब तीन वर्ष देखि बन्द छ ।
पाँच किलोवाट क्षमताका दुई वटा पङ्खाबाट १० किलोवाट र १५ किलोवाटको सौर्य ऊर्जाको मिश्रित प्रणालीबाट उत्पादित बिद्युत् यहाँका १३१ घरपरिवारमा वितरण गरिएको थियो । परियोजनाबाट उत्पादित विद्युत्लाई १७ हजार एम्पिएर आवरको ब्याट्रीमा सङ्कलन गरी ३० केभीको ट्रान्सफर्मरमार्फत थ्री–फेजको लाइनबाट घरघरमा वितरण गरिएको थियो ।

२०७४ सालसम्म बिजुली बलेको भएपनि त्यसपछि प्राविधिक रुपमा केही खराबी आए पछि उक्त परियोजना बन्द भएको हो । स्थानीयस्तरमा उपलब्ध ऊर्जाका स्रोतको उपयोग गरी जनतालाई ऊर्जामा आत्मनिर्भर गराउन यस्ता वैकल्पिक ऊर्जा प्रविधिको विकास र विस्तारमा लाग्नुपर्ने खाँचो रहेको बेला प्राविधिककै अभावमा त्यो सम्भव हुन सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्न सकिने बताउँदा खिस्सी उडाउनेहरूका लागि पनि उक्त परियोजना उदाहरणीय छ । तर विगत तीन वर्षदेखि परियोजना बन्द हुँदा राज्यको नीति र स्थानीयको खुसी चकनाचुर भएको छ ।









प्रतिक्रिया राख्नुहोस्