क्रेनले विद्युत् लाइन छुँदा करेन्ट लागेर दुई जनाको मृत्यु, दुई घाइते

सोलुखुम्बु । सोलुखुम्बुको पत्तालेको मूल सडकमा क्रेनले विद्युत् लाइन छुँदा करेन्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले शुक्रवार बिहान साढे ८ बजे ३३ केभिए प्रसारण लाइन छुँदा सवार चारजना युवा मध्ये घटनास्थलमै दुई जनाको मृत्यु भएको हो भने अन्य २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा लोबेड गाडी चालक बागलुङका २६ वर्षीय भुमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका २४ वर्षीय राम परियार रहेका छन् ।
ग. १ ज. ५१७३ नम्बरको उक्त गाडीमा सवार अन्य दुई जना घाइते भएको र घाइतेको उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिनुभयो ।
विगत केही वर्षयता निर्माणाधीन अवरस्थामा रहेको ८६ मेगावाट क्षमताको सोलुखोला दुधककोशी जलविद्युत आयोजनाको क्रेन मर्मत सम्भारका लागि लोबेड गाडीमा पोखरा लैजाने क्रममा हाईटेन्सन लाइनमा छुँदा दुर्घटना भएको हो ।
करेन्टका कारण गाडीमा आगो लागेको प्रहरीले जनाएको छ । हाईटेन्सनको तार होचो भएका कारण क्रेनले छुन पुग्दा घटना भएको हो ।








प्रतिक्रिया राख्नुहोस्