सभापति देउवाद्वारा भदौमा पार्टीको महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई लाग्न आह्वान गर्नुभएको छ ।
सभापति देउवाले आज वक्तव्यमार्फत कोभिड–१९ को विषम परिस्थितिमा पनि निर्धारित मिति आगामी भदौभित्र पार्टीको १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुहुँदै त्यसमा आफू पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ ।
सभापति देउवाले पार्टीका पदाधिकारी र केन्द्रीय कार्यसमिति, स्थानीय तहका पदाधिकारी तथा सदस्य, देशभरिका पार्टी सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका सदस्य, विदेशस्थित जनसम्पर्क समितिका सदस्यलाई काँग्रेसको महाधिवेशन सम्पन्न गर्ने बारे कुनै पनि भ्रममा नपरी आ–आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्न दत्तचित्त भई लाग्न आह्वान गर्नुभएको छ ।
विज्ञप्तिमा सभापति देउवाले असार र साउन दुई महिना भित्र पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरूको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
उहाँले कोभिड–१९ को महामारीलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई काम गर्न पनि अनुरोध गर्नुभएको छ ।
काँग्रेसले पार्टीको १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने तय गर्दै सोहीअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । रासस








प्रतिक्रिया राख्नुहोस्