तपाईँ सुन्दै हुनुहुन्छः

दुई सरकारी अस्पताललाई सूर्य नेपाल प्रालिद्वारा भेन्टिलेटर सहयोग

तनहुँ । तनहुँमा रहेको बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले बुधवार दुई सरकारी अस्पताललाई भेन्टिलेटर सहयोग गरेको छ । कोभिड महामारीका समयमा बिरामीहरूलाई उपचारका लागि सहज होस भन्ने उद्देश्य सहित प्रालिले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र पोखराको पश्चिमाञ्चल क्षत्रिय अस्पताललाई भेन्टिलेटर सहयोग गरेको हो ।
जिपी अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठलाई भेन्टिलेटर हस्तान्तरण गर्दै प्रालिका कारखाना व्यवस्थापक बाबुराम कार्कीले अस्पतालको आवश्यकतालाई मध्यनजर गरी सहयोग गरिएको बताउनुभयो । कार्कीका अनुसार दुई अस्पतालले सहयोगका लागि सूर्य नेपाललाई पत्राचार मार्फत आग्रह गरेका थिए ।
शुक्लागण्डकी नगरपालिका स्थित वडा न ७ सेराटारमा रहेको यो कम्पनीले प्रदान गरेको भेन्टिलेटरलाई  मूल्य कर बाहेक १७ लाख रुपैयाँ पर्दछ ।
सोही कार्यक्रम मार्फत कार्कीले आगामी हप्ता दुवै अस्पताललाई ५ थान अक्सिजन कन्सन्ट्रेटर र हाइ फ्लो नोजल क्यानुला १ थान प्रदान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले  जिपी अस्पताललाई प्रदान गर्ने गरी एम्बुलेन्स र शव वाहन खरिद प्रक्रियामा रहेको बताउनुभयो ।
जिपी कोइराला अस्पतालमा हाल अक्सिजनका आवश्यकता भएको कोभिडका बिरामीको उपचार भइरहेको छ । सो अस्पतालमा हाल २० जना सङ्क्रमित छन् । गएको वैशाखमा सो कम्पनीले शुक्लागण्डकी कोरोना राहत कोषमा १० लाख रुपैयाँ सहयोग गरेको थियो । त्यस लगत्तै नगरलाई एम्बुलेन्स प्रदान गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button