तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमितको आपत्तकालिन शल्यक्रिया 

दोलखा । दोलखा सदरमुकाममा रहेको चरिकोट अस्पतालले कोरोना संक्रमित सुत्केरी महिलाको आपत्कालिन शल्यक्रिया गरी बच्चा निकालेको छ । अस्पतालका प्रमुख एमडिजिपि डाक्टर विनोद दंगाल, डाक्टर धनलाल र नर्स रश्मिको टिमले सफलतापूर्वक उक्त शल्यक्रिया गरेको थियो ।
रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ को १९ वर्षीया लाप्ती शेर्पा पहिलो पटक गर्भवती भएकी थिइन । जेठ २२ गतेको मिति दिइएको लाप्तीलाई ज्वरो, रुघा, खोकी सहित सामान्य प्रसूतिको लक्षण समेत देखिएपछि उनी स्थानीय बाम्ती स्वास्थ्य चौकीमा गएकी थिइन । बाम्ती स्वास्थ्य चौकीले कोरोनाको शङ्का गरेपछि उनी जेठ १४ गते थप उपचारको लागि चरिकोट अस्पताल आएकी हुन् ।
सामान्य प्रसूतिको लक्षणसहित उपचारको लागि आएकी लाप्तीको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । लगतै उनमा कोरोनाको निमोनिया देखिएपछि अस्पतालले निमोनियाको उपचार सुरु गरेको थियो । निमोनियाको उपचारकै क्रममा उनलाई बेथा लागेको र सोही क्रममा बच्चा अड्किए पछि उनको आपत्तकालिन शल्यक्रिया गरिएको अस्पतालका प्रमुख एमडिजिपि डाक्टर विनोद दंगालले बताउनुभयो ।
बेथा लाग्ने क्रममा बच्चा अड्कियो भने निक्कै जोखिम हुन्छ । त्यसमाथि कोरोना सङ्क्रमितको शल्यक्रिया गर्नु झन् जोखिम थियो, अस्पतालका एमडिजिपि डाक्टर दंगालले भन्नु भयो – तर हामीले निक्कै होसियारी पूर्वक शल्यक्रिया सफल गरेर सामान्य अवस्थामै छोरा भयो । कोरोना सङ्क्रमितको यस्तो जोखिम शल्यक्रिया दोलखामा पहिलो पटक गरिएको पनि डाक्टर दंगालले बताउनुभयो ।
चरिकोट अस्पतालमा कोरोना सङ्क्रमणको बेलामा समेत ७० जनालाई सामान्य अवस्थामा सुत्केरी सेवा दिइएको र १५ जनाको शल्यक्रिया मार्फत सुत्केरी सेवा दिइएको डाक्टर दंगालको भनाई छ ।
चरिकोट अस्पतालमा रहेको पीसीआर प्रयोगशालामा अहिलेसम्म झण्डै ३५ सयको पीसीआर परीक्षण गरिएकोमा १३ सय भन्दा बढीमा कोरोना पुष्टि भएको छ । त्यसमध्ये १ सय ४० जनालाई अस्पतालमा भर्ना गरी उपचार सेवा दिइएको डाक्टर दंगालले बताउनुभयो ।
अस्पतालमा कोरोना संक्रमित बिरामीसँगै दोलखा तथा आसपासका जिल्लाबाट अन्य बिरामीहरू समेत आउन थालेपछि अक्सिजन अभाव हुन नदिन अस्पताल आफैले अक्सिजन प्लान्ट राख्ने थालेको र त्यसको प्रक्रिया अघि बढी सकेकोले एक डेढ महिना भित्रै प्लान्ट जडान हुने अस्पतालका अध्यक्ष एवं भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले बताउनु भयो ।
हालसालै राष्ट्रिय प्रजातन्त्र पार्टीको सहयोगमा अस्पतालमा अक्सिजन उत्पादन मेसिन समेत राखिएको अस्पतालले जनाएको छ । चिन सरकारले उपलब्ध गराएको उक्त मेसिन राप्रपाका केन्द्रीय सदस्य शोभित उप्रेती र दोलखा अध्यक्ष राजनबहादुर शिवाकोटीको विशेष पहलमा चरिकोट अस्पतालमा ल्याइएको थियो ।
कोरोना महामारीमा अस्पताललाई सहयोग
कोरोना महामारीमा जिल्ला भरीकै रेफेरल सेन्टर बनेको चरिकोट अस्पताललाई अन्य निकायहरूले समेत विभिन्न स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग समेत गरेको छ ।
दोलखाका युवा अभियन्ताहरू गोकर्ण भण्डारी, श्रृजन घिमिरे, सुजन काफ्ले, ध्रुव आचार्य, भरत श्रेष्ठ, पुष्कर अधिकारी, सुवास बस्नेत लगायतले विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति मार्फत चरिकोट अस्पताललाई १० थान ठुलो अक्सिजन सिलिण्डर र पाँच थान रेगुलेटर सहयोग गरेको छ । अक्सिजन किन्न मेरो एक हजार अभियान अन्तर्गत सङ्कलित रकमले युवाहरूले उक्त सहयोग गरेका थिए । उनीहरूले जिरी, बैतेश्वर र सिंगटी अस्पताललाई पनि पाँच÷पाँच थान अक्सिजन सिलिण्डर र केही रेगुलेटर सहयोग गरेका थिए ।
चरिकोट अस्पतालमा उपचार गराई रहेका कोरोना संक्रमित, उनीहरूको सहयोगी र स्वास्थ्यकर्मीहरूलाई लालिगुँरास युवा क्लब चरिकोटले विगत एक महिना देखि खाना र खाजा उपलब्ध गराई रहेको क्लबका अध्यक्ष प्रवीण श्रेष्ठले बताउनुभयो ।
त्यसै गरी बोधिसत्वा विहारका सुप्रिम मास्टर हेगुवाङसीको सहयोग तथा अन्तर्राष्ट्रिय समन्वय समाज र योगदान राष्ट्रको लागि दोलखाको पहलमा चरिकोट अस्पताललाई ६५ लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button