प्राकृतिक सम्पदा दोहन गर्नेलाई प्रहरीले समात्यो, पालिकाले छाड्यो

ओखलढुङ्गा । ओखलढुङ्गामा नदीजन्य प्राकृतिक सम्पदा दोहन गरेको आरोपमा प्रहरीले पक्राउ गरेका व्यक्तिहरूलाई गाउँपालिकाले सामान्य कारबाही गरेर छाडेको छ । गैरकानुनी हिसाबले खोलाबाट नदी जन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा सवारी सहित प्रहरीले समातेका ४ जनालाई गाउँपालिकाले नौं हजार जरिवाना गराएर छाडेको हो ।
मानेभञ्ज्याङ गाउँपालिका ७ स्थित सुनकोसी नदी र भडारे खोलाको दोभानबाट अवैध रुपमा नदी जन्य पदार्थ उत्खनन गरी थुपार्दै गरेको अवस्थामा सवारी साधन सहित ३ जना चालक र उत्खननमा संलग्न अर्का एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर गत जेठ २२ गते गाउँपालिकालाई बुझाएको थियो । गाउँपालिकाले गाउँ कार्यपालिकाको बैठक राखेर पक्राउ परेका व्यक्तिलाई नौ हजार जरिवाना तिराएर फेरि गल्ती नदोहोर्याउने सर्तमा छाडेको गाउँपालिका अध्यक्ष मोतीराज राईले बताउनुभयो । फेरि त्यस्तो गरेको भेटिएमा दोब्बर जरिवाना सहित थप कडा कारबाही गरिने अध्यक्ष राईको भनाई छ ।
गाउँपालिकाले उत्खननमा प्रयोग भएका दुई टिफर धनीलाई दुई/दुई हजार र एक जेसिबीलाई पाँच हजार जरिवाना तिराएको छ । उत्खनन भएका नदीजन्य पदार्थ गाउँपालिकाको हुने गरी निर्णय गरिएको छ । गत शनिवार सुनकोसी नदी र भडारे खोलाको दोभानमा करिब १५ टिफर बालुवा उत्खनन गरी थुपार्दै रहेको अवस्थामा प्रहरी चौकी हर्कपुरले २ वटा टिफर र एक जेसिबी सहित चालकलाई नियन्त्रणमा लिएको थियो ।
ओखलढुङ्गामा पछिल्लो समय प्राकृतिक सम्पदाको दोहन बढे पनि स्थानीय तहले कडाइका साथ कारबाही गरेर दोहन रोक्न सकेका छैनन् । जिल्लाभर नदीजन्य सम्पदा दोहनको समस्या छ ।








प्रतिक्रिया राख्नुहोस्