तपाईँ सुन्दै हुनुहुन्छः

पथलैया औद्योगिक करीडोरमा कार्यरत मजदुरलाई खोप लगाउन आग्रह 

वीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घले वीरगंज पथलैया औद्योगिक करीडोरमा कार्यरत १ लाख २५ हजार भन्दा बढी मजदुर कर्मचारीहरूलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सरकार सँग माग गरेको छ ।
सङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मुलुकका सामु कोभिडले गर्दा विद्यमान असहज परिस्थितिमा निजी क्षेत्रले राष्ट्रिय आकाङ्क्षा र आवश्यकताको परिपूर्तिका लागि जोखिम र चुनौतीका बीच उद्योग प्रतिष्ठान सञ्चालन गरेर आधारभूत आवश्यकताको परिपूर्ति गरी रहेको सन्दर्भमा राज्यले उद्योग प्रतिष्ठानलाई कोरोना संक्रमण मुक्त बनाउने अभियान चलाउनुपर्ने माग गरेको छ ।
सङ्घले नेपालको प्रमुख औद्योगिक कोरिडोर वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा अवस्थित साना, मझौला र ठुला गरी झण्डै १ हजार उद्योग प्रतिष्ठान रहेको र त्यहाँ एक लाख २५ हजार भन्दा बढी मजदुर कर्मचारी कार्यरत रहेको हुँदा उनीहरूलाई कोरोना सङ्क्रमणबाट जोगाउन तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरिएको छ ।
कोभिड–१९ को संक्रमण र यसको बढ्दो प्रकोपले वीरगञ्ज लगायत यस क्षेत्रलाई जुन घनत्वमा प्रभावित रहेको छ त्यसको अनुपातमा मुलुकका अन्य शहरहरु कम प्रभावित रहेको कुरा उल्लेख गर्दै विज्ञप्तिमा वीरगञ्ज र यस क्षेत्रमा अवस्थित उद्योग प्रतिष्ठानमा कार्यरत कामदार, कर्मचारी र निजी क्षेत्रलाई तेस्रो भेरियन्ट आउनु पूर्व नै कोभिड खोप लगाउन अपरिहार्य भएको कुरा उल्लेख गरिएको छ ।
कोभिड–१९ को तेस्रो भेरियन्ट सङ्घारमै आई पुगेको सङ्केत वरिष्ठ चिकित्सक र जनस्वास्थ्य विज्ञहरूले उद्घोष गरी रहेको र यसको प्रभाव पछिल्ला भेरियन्ट भन्दा झन् बढी हुने भन्ने आकलन भई रहेका प्रसङ्गहरूलाई गम्भीरता पूर्वक आत्मसात् गरी उद्योग, व्यापार, व्यवसाय क्षेत्रका उत्पादन, वितरणमा काम गर्नेहरू तथा उद्योग व्यवसाय सञ्चालकहरू समेतलाई फ्रन्टलाइनमा काम गर्ने सरह नै प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनु पर्ने तर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण समेत गराउँछौ विज्ञप्तिमा भनिएको  छ ।
वीरगंज उद्योग वाणिज्य सङ्घले यसअघि स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, नेपाल उद्योग वाणिज्य महासङ्घ र बीरगंज महानगरपालिकालाई छुट्टा छुट्टै पत्र लेखी खोप उपलब्ध गराउन माग समेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button