आर्थिक पारदर्शिता र सुशासनलाई उच्च प्राथमिकताः निवर्तमान मन्त्री गुरुङ

काठमाडौँ । निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं एमाले नेता पार्वत गुरुङले देशलाई समृद्ध बनाउन जनप्रतिनिधि, मन्त्री र कर्मचारीहरू इमानदारीपूर्वक आफ्नो जिम्मेवारीमा लाग्नुपर्ने बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा निवर्तमान सञ्चार मन्त्री गुरुङले मुलुकको राजनीतिक स्थिति अत्यन्तै सङ्कटपूर्ण र तरल भएको उल्लेख गर्नुहुँदै सबैले धैर्यतापूर्वक विचलित नभई काम गर्नुपर्ने बताउनुभयो ।
निवर्तमान मन्त्री गुरुङले देशको अहिलेको राजनीतिक परिस्थितिमा गुटको स्वार्थमा नलागी कोभिड सङ्कटका बेला सबै नेपाली एकजुट हुनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले देशमा कोरोना सङ्क्रमणका बेला राजनीतिमा पनि कोभिड घुसेकाले कतिपय लक्ष्य र उद्देश्य पुरा हुन नसकेको भन्नुहुँदै उहाँले परिस्थितिवश कतिपय परियोजनाहरू अधुरा भए पनि यही आर्थिक वर्षमा ती काम पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।
निवर्तमान मन्त्री गुरुङले सिङ्गो सञ्चार क्षेत्रलाई रूपान्तरण गर्ने कार्यलाई मन्त्री पदभन्दा बाहिरबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सञ्चार मन्त्रालयमा प्रवेश गर्दा विद्यार्थीको रुपमा आएको उल्लेख गर्दै उहाँले जसरी मन्त्री हुँदा स्वागत भएको थियो त्यसरी नै बिदाइ हुँदा पनि हुनुपर्छ भन्नेमा आफु सधैँ सचेत रहेको उल्लेख गर्नुहुँदै आर्थिक पारदर्शिता र सुसासनलाई आफूले जहिले पनि उच्च प्राथमिकता दिएको बताउनुभयो ।
मन्त्रालयका सचिव हरि प्रसाद बस्यालले सक्रिय मन्त्री भएकै कारण उहाँको ८ महिनाको कार्यकालमा सूचना र सञ्चार क्षेत्रमा धेरै काम भएको उल्लेख गर्दै विना विवाद भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।
निवर्तमान मन्त्री गुरुङले २०७७ साल असोज २९ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी समाल्नुभएको थियो ।
मन्त्री गुरुङले देशका ७७ वटै जिल्लाका स्थानीय निकाय, विद्यालय, स्वास्थ्य संस्थामा २ वर्षसम्म निःशुल्क इन्टरनेट सेवाको सुविधा प्रदान गर्ने निर्णय अनुसार कार्य अगाडि बढिसकेको छ भने नागरिक एपको कार्यान्वयन, क्लिन फिड लागू लगायतका महत्त्वपूर्ण काम उहाँको नेतृत्वमा भएको हो ।








प्रतिक्रिया राख्नुहोस्