व्यासको बुदीमा फल्न थाल्यो स्याउ
दार्चुला । व्यास गाउँपालिका–१ को बुदीमा स्याउ फल्न थालेको छ । गत वर्ष लगाइएको इटालेली गाला र फुजी जातको स्याउ फल्न थालेको हो । कालापानी कृषि तथा पशुपालन फर्मले बुदीमा गत वर्षदेखि स्याउ खेती शुरु गरेको थियो । स्याउ लगाएको दोस्रो वर्षमै फल दिन थालेको फर्मका अध्यक्ष चरनसिंह बुढाथोकीले बताउनुभयो । पहिलो वर्ष एक हजार ५०० बोट स्याउ खेती परीक्षणका रूपमा लगाइएको हो ।
अहिले फल दिएको स्याउको स्वाद र उत्पादन हेरेर थप स्याउ खेती विस्तार हुनेछ । फर्मले चालु वर्षमा पाँच हजार २०० बोट थप स्याउ खेती विस्तार गरेको छ । सदरमुकाम खलङ्गाबाट दुई दिनको पैदल दूरीमा पर्ने बुदीमा स्याउ लगाइएको हो ।
बुदीमा रहेको कुल २०० रोपनी जमिनमा स्याउ खेती विस्तार गर्ने योजना रहेको अध्यक्ष बुढाथोकी बताउनुहुन्छ । कुल छ हजार ७०० बोट स्याउ लगाइएको छ । यो क्षेत्रमा कम्तीमा १२ हजार बोट स्याउ खेती लगाउने योजना छ ।
बाटो घाटो नहुँदा अहिले ढुवानी भाडा महँगो हुँदा लागत बढेको छ । “अहिलेसम्म रु एक करोडभन्दा बढी लागत पुगिसक्यो”, अध्यक्ष बुढाथोकी भन्नुहुन्छ, “सडक चाँडो बन्न सके हामीलाई स्याउ खेतीमा सहज हुने थियो ।”
अहिलेसम्म फर्मले कृषि ज्ञान केन्द्र दार्चुलामार्फत रु २१ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत यो वर्ष एक हजार ७०० बोट स्याउ अनुदानबाहेक सरकारी लगानी पाइएको छैन । अहिलेसम्म आफ्नै लगानीमा स्याउ खेती विस्तार भइरहेको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।
“दार्चुला तिङ्कर सडक निर्माण समयमै हुन सक्यो भने बुदीमा फल्ने स्याउ सुदूरपश्चिमभरि पु¥याउन सहज हुन्छ तर सडक नपुगेसम्म उत्पादन भएको स्याउ बजारसम्म ल्याउन समस्या हुनेछ”, उहाँले भन्नुभयो ।
व्यास–१ छांगरुमा पनि हजारौँ बोट स्याउ लगाइएको छ । यहाँ उत्पादन हुने स्याउ सशस्त्र प्रहरी बल र भारतीय सुरक्षाकर्मीलाई विक्री हुँदै आएको छांगरुका स्याउ उत्पादक जीतसिह बोहराले बताउनुभयो । नेपालतिर बजार पु¥याउन बाटो घाटो छैन, अहिलेसम्म भारतीय सुरक्षाकर्मीलाई स्याउँ विक्री गर्ने गरिएको छ । दार्चुलाको व्यास, नौगाड, मार्मा र अपिहिमाल गाउँपालिकामा स्याउ खेती हुने गर्छ ।
अपि हिमालमा विद्युत् उत्पादन हुँदै
अपि हिमाल गाउँपालिका–३ को घट्टेखोलामा १०० किलोवाट क्षमताको जलविद्युत् उत्पादनको अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, अपिहिमाल गाउँपालिका, स्थानीय साझेदारी पूर्वाधार विकास कोष र उपभोक्ता लगानीमा विद्युत् उत्पादनको अन्तिम तयारी थालिएको हो ।
विद्युत्को इन्टेक, विद्युतगृह, क्यानललगायतका काम सकिएको छ । मुख्य पाइप लाइन जडानको काम मजदुर अभावले रोकिँदा निर्माण कार्य केही ढिलाइ भएको निर्माण समितिका अध्यक्ष नन्दनसिंह धामीले जानकारी दिनुभयो ।
“अहिले यार्सागुम्बा सङ्कलनको समय चलेको कारण निर्माण कार्य अवरुद्ध भएको छ”, अध्यक्ष धामीले भन्नुभयो, “मजदुर पाइयो भने एक महिनाभित्र विद्युत्को काम सकिने छ ।” पाथाको घट्टेखोलामा निर्माण भइरहेको विद्युत्को ६८० मिटर लम्बाइको पाइप लाइन छ । विद्युत् निर्माणअन्तर्गत विद्युत्का पोल गाड्नेदेखि तार विस्तारको काम बाँकी छ ।
अहिले पनि मजदुरको खोजी भइरहेको छ । मजदुर अभावमा रोकिएको काम पुनः शुरु गराउन गाउँपालिका अध्यक्ष धर्मानन्द सिंह मन्यालले समेत आग्रह गर्नुभएको छ । “निर्माणको काम निकै ढिलो भयो, मजदुर नपाएर काममा ढिलाइ गर्न मिल्दैन” उहाँले भन्नुभयो । पालिकाभित्र मजदुर नपाए बाहिरबाट ल्याएर भए पनि समयमै विद्युत् बाल्न उहाँले समितिलाई आग्रह गर्नुभएको छ ।
विद्युत् निर्माण गर्न सके उज्यालो अपि अभियानमा सघाउने पुग्नेछ । यो विद्युत् साविकको खण्डेश्वरी गाविसको ७०० घरधुरीमा पु¥याउने योजना छ । खण्डेश्वरीमा विद्युत् खपत हुन नसके साविकको घुसा गाविसम्म विस्तार गर्न सकिने जनाइएको छ ।
सडक पहुँच नपुगेको अपिहिमालको पाथासम्म विद्युत्को सामान ढुवानीमा लागत बढेको उपभोक्ता समितिका अध्यक्ष धामी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले विद्युत्का ठूला मेसिन तथा ट्रान्सफर्मर शैल्यशिखर नगरपालिकाको शिखरबाट हेलिकप्टरमार्फत ढुवानी ग¥यौँ । अहिले पनि गाउँपालिकाको वडा नम्बर ५ मकरीगाडसम्म मात्रै सडक पहुँच छ । सडक पहुँचबाट एक दिन हिँडेपछि मात्रै निर्माणाधीन योजनास्थल पुग्न सकिन्छ ।”
अहिलेसम्म विद्युत निर्माणका लागि वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले रु. दुई करोड ८५ लाख, गाउँपालिकाले रु ९० लाख, स्थानीय साझेदारी पूर्वाधार विकास कोषअन्तर्गत रु ५० लाख र स्थानीय उपभोक्ताको रु. ५७ लाख लागतमा विद्युत् निर्माण भइरहेको छ । रासस
प्रतिक्रिया राख्नुहोस्