तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यकर्मीलाई कुटपिट गरे अब तीन वर्ष कैद

file photo

काठमाडौँ । अब स्वास्थ्यकर्मीलाई कुटपिट गरेपछि तीन वर्ष कैद हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गर्नु भएको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’ मा अब स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद बस्नुपर्ने व्यवस्था गरिएको हो ।

अध्यादेशको दफा ३ मा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्‍याए तीन वर्ष कैद वा रु तीन लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । अध्यादेशमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याएमा पनि तीन वर्ष कैद वा तीन लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

यस्तै अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गरे दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपियाँदेखि पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

यसैगरी स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गरे, स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमको बाधा पुर्‍याए वा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न कुनै किसिमको धम्की दिए, गालीगलौज गर्न वा अभद्र र अपमानजनक व्यवहार गर्न गरे एक वर्षसम्म कैद वा एक लाख रुपियाँ जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button