तपाईँ सुन्दै हुनुहुन्छः

थप ६ हजार ६ सय ३६ जना कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ । नेपालमा आज थप ६ हजार ६ सय ३६ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ४ लाख ९१ हजार ९ पुगेको र निको हुने दर ८३ दशमलव ५ प्रतिशत रहेको जानकारी दिनुभयो ।

यसैगरी आज थप ३ हजार ४ सय ७९ जनामा भाईरस संक्रमण पुष्टि भएको छ ।

आज १० हजार ४ सय ७१ नमुनाको पिसिआर परीक्षण गर्दा ३ हजार २४ जना तथा ३ हजार २ सय ६२ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज काठमाडौँमा ७ सय ३१ जना, ललितपुरमा २ सय ५४ जना र भक्तपुरमा १ सय ४६ जना गरी काठमाडौँ उपत्यकामा १ हजार १ सय ३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

यसैगरी आज थप ९९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

यसमा नेपाली सेनाले यस अगाडिका विभिन्न मितिमा व्यवस्थापन गरेको सङ्क्रमितका शवहरूको सङ्ख्या समेत जोडिएको मन्त्रालयका प्रवक्ता डा पौडेलले बताउनुभयो ।

यो सँगै नेपालमा हाल सम्म ७ हजार ८ सय ९८ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

यसैगरी आज देश भर गरी ८९ हजार २ सय १७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय सङ्क्रमितमध्ये ८२ हजार ७ सय ३ जना होम आइसोलेसन तथा बाँकी ६ हजार ५ सय १४ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

आजको तथ्याङ्क अनुसार देशका विभिन्न ४७ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. पौडेलले जानकारी दिनुभयो ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना विरुद्धको पहिलो डोज खोप प्राप्त गरेको व्यक्तिले १६ हप्तापछि पनि अर्को डोज खोप लिन सकिने जनाएको छ ।

आजको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पहिलो डोज खोप प्राप्त गरेका व्यक्तिले १६ हप्ता वा सो भन्दा पछि समेत दोस्रो डोज खोप लिन सक्ने बताउनुभयो ।

प्रवक्ता डा पौडेलले दोस्रो डोज खोपको प्रतीक्षामा रहेका सबै नागरिकलाई पुग्ने गरी आवश्यक खोपको व्यवस्था गर्न सरकारले पहल गरिरहेको पनि बताउनुभयो ।

प्रवक्ता डा पौडेलले काठमाडौँमा भेरोसिल खोपको पहिलो मात्रा लिएर निषेधाज्ञाका कारण दोस्रा मात्रा लिन बाँकी रहेका व्यक्तिले स्थानीय पालिका एवं पायक पर्ने जिल्ला स्वास्थ्य कार्यालयमा सम्पर्क गरी गरी खोप लिन समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button