धनुषामा थप दुई सङ्क्रमितको मृत्यु, ८४ जनामा संक्रमण
जनकपुरधाम । कोरोना सङ्क्रमणका कारणले धनुषा जिल्लामा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पुरुष र एक जना महिला रहेका छन् ।
मृत्यु हुनेमा जिल्लाको शहिदनगर नगरपालिका वडा नंं ३ यदुकोहा घर भएका वर्ष ३३ का पुरुष रहेका छन् । उनको जनकपुरधामको राजमानकी अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको कोभिड १९ व्यवस्थापन समितिका सम्पर्क व्यक्ति एवं जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत यमन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी धनुषाको धनुषाधाम नगरपालिका वडा नं ३ का वर्ष ४५ की महिलाको उपचारको क्रममा सिरहा जिल्लाको फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जनहामा मृत्यु भएको छ । दुवै जनामा निमोनिया भएर श्वास प्रश्वासमा समस्या भएका कारणले बचाउन नसकेको उपचारमा संलग्न रहेका चिकित्सकले जानकारी दिनुभएको छ ।
यसैगरी धनुषा जिल्लामा पछिल्लो पटक गरिएको पि सि आर परीक्षणमा ८४ जनामा थप व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा ४ सय नमुनाको पि सि आर परीक्षण गर्दा करिब २३ प्रतिशतमा कोरोना सङ्क्रमणको पुष्टि भएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
यससँगै धनुषा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ६ सय २४ रहेको छ । सक्रिय सङ्क्रमितमध्ये अधिकांश संक्रमितहरु होम आइसोलेसनमा नै रहेर चिकित्सकको परामर्शमा उपचाररत रहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्