तपाईँ सुन्दै हुनुहुन्छः

घरदैलोमा नै कोरोना सङ्क्रमितको परीक्षण तथा उपचार

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा कोरोना सङ्क्रमितको परीक्षण तथा उपचार घरघरमा भइरहेको छ ।

बिरामीको उपचारमा स्वास्थ्यकर्मीसँगै अध्यक्ष डुफकुमार बास्तोला सङ्क्रमितको घरमै पुग्ने गर्नुभएको छ ।

उहाँले बिरामीको अवस्था बुझ्ने सङ्क्रमितलाई ढाडस दिने, समस्या र गुनासो सुनेर समस्या समाधानका लागि तत्काल पहल गर्ने गरेको स्थानीयहरूको बताएका छन् ।

श्वासप्रश्वासमा समस्या देखिए सङ्क्रमितको घरमै पनि अक्सिजन कन्सन्ट्रेटरको व्यवस्था मिलाउने गरिएको गाउँपालिका अध्यक्ष बास्तोलाले जानकारी दिनुभयो ।

अध्यक्ष बास्तोलाले भन्नुभयो, “सम्पुर्ण ध्यान कोरोना नियन्त्रणमा लगाएका छौँ, घरदैलोमै पुगेर उपचार गर्ने, आवश्यक परामर्श दिने काम चलिरहेकै छ, म आफैँ पनि दैनिक सङ्क्रमितको घर घरमा पुग्छु र उहाँहरूको कुरा सुन्छु अनि ढाडस दिएर फर्कन्छु ।”  उहाँ नेकपा एमालेबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ ।

स्वास्थ्यकर्मीहरुले सङ्क्रमितको लक्षण र समस्याअनुसार औषधि र परामर्श दिने गरेका छन् भने जनप्रतिनिधिले अवस्था बुझेर मनोबल उच्च बनाउन हौसला दिने भए पनि बिरामीलाई बाँच्ने हिम्मत मिलेको वडा नम्बर दुई कोरोना जित्नु भएका द्रोण बास्तोलाले बताउनुभयो ।

होम आइसोलेसनमा बस्दा जनप्रतिनिधिले पटक पटक भेट्न आउँदा कोरोना जित्ने आत्मबल बढेको उहाँको भनाइ छ ।

नयाँ बिरामी चेकजाँच गर्न र होम आइसोलेसनमा बसेकाको अवस्था बुझ्न घरघरमा जानु अध्यक्ष बास्तोलाको दैनिक काम बनेको छ ।

उहाँ जस्तै वडा नं. १ का अध्यक्ष रमेशकुमार राई पनि प्रत्येक सङ्क्रमितको घरघरमा पुगेर अवस्था बुझ्ने गर्नुभएको को स्थानीय बताउँछन्  ।

स्थानीय सरकारको जनमैत्री कामको कोरोना सङ्क्रमितले प्रशंसा गर्दै आएका छन् ।

नेचाका रोहित बास्तोलाका छोरा सङ्क्रमित बनपछि अवस्था जटिल बन्न थालेपछि गाउँपालिकाले घरमै अक्सिजन जडान गरिदिएर नयाँ जीवन दिएको उनका परिवारले बताएका छन् ।

सङ्कटको बेलामा गरिएको सहयोग मननयोग्य हुन्छ भनेझैँ कोरोनासँग लडिरहेको बेला कसैले सञ्चो बिसन्चो सोधे मात्रै पनि आराम महसुस हुने कोरोना सङ्क्रमितले बताउने गरेको स्थानीय धन कुमार ढुङ्गेलले बताउनुभयो ।

स्थानीय सरकार र जनप्रतिनिधिको पुरापुर सहयोग पाएकाले सङ्क्रमितको उपचार र परामर्श होम आइसोलेसनमै गरिरहेको स्वास्थ्य शाखा संयोजक युवराज शर्माले बताउनुभयो ।

नेचासल्यान गाउँपालिकामा करिब एक सयभन्दा बढी सङ्क्रमित पहिचान भएका छन् भने अधिकांशले कोरोनालाई परास्त गरेका छन् ।

गाउँपालिकामा अक्सिजन सहितको आइसोलेसन सेन्टरसमेत तयार रहेको छ । पिसिआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button