कोरोना कहर : इट्टा उद्योगबाट आम्दानीसँगै विपन्नलाई रोजगारी

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गामा रहेको इन्टरलक इट्टा उद्योग कोरोना कहरका बीच पनि स्वास्थ्य सावधानी अपनाएर नियमित सञ्चालन भइरहेको छ ।
स्थानीय स्रोत साधनबाटै जुम्लामै इट्टा उत्पादन हुने भएकोले कोरोना रोकथामका लागि सीमा नाका बन्द भए पनि पनि (एम्स मल्टि म्यानुफ्याक्चरिङ कम्पनी)द्वारा सञ्चालित ईन्टरलक इट्टा उद्योग, ग्रिल उद्योग नियमित सञ्चालन भइरहेको हो ।
पछिल्लो समय ईन्टरलक इट्टाबाट घर निर्माण गर्नेहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुँदै भए पनि माग पनि बढ्दै गएको छ ।
उद्योगका सञ्चालक मनोज बुढाथोकी मगर भन्नुहुन्छ,“स्थानीय स्रोतको सदुपयोग गर्ने, आयातित इट्टा विस्थापित गर्ने, पुँजी पलायन रोक्ने, रोजगारी सृजना र भूकम्प प्रतिरोधी संरचना निर्माणमा टेवा पुराउने लक्ष्यका साथ उद्योग सञ्चालन गरिएको हो । छोटो समयमै यसको माग वृद्धि बढेपछि आम्दानी सँगै रोजगारी पनि बढेको छ ।”
स्थानीय स्रोत साधनबाटै इन्टरलक इट्टा उत्पादन हुने भएकोले गत वर्ष पनि उद्योग बन्द नभएको र दोस्रो लहरको कोरोनाले पनि कुनै असर नपरेको उद्योगपती बुढाथोकी मगरले बताउनुभयो ।
भूकम्पका दृष्टिले अति जोखिममा रहेको कर्णालीमा भूकम्प प्रतिरोधी संरचना बनाउन ईन्टरलक इट्टाको प्रयोग अनिवार्य छ ।
घर बलियो पनि हुने, रङ्गिन इट्टाभन्दा सस्तो पनि पर्ने कुरा नागरिक बिस्तारै बुझ्दै भएपछि माग बढिरहेको छ ।
हालसम्म करिब ६० देखि ७० जति घर, कार्यालय भवन, होटेल विद्यालय लगायतका संरचना ईन्टरलक इट्टाबाट बनिसकेका छन् ।
मासिक १२ लाख आम्दानी
(एम्स मल्टि म्यानुफ्याक्चरिङ कम्पनी)द्वारा सञ्चालित ईन्टरलक इट्टा उद्योग तथा ग्रिल उद्योगमा कोरोना कहरका बीच पनि मासिक करिब १२ देखि १३ लाख बराबर आम्दानी हुने गरेको छ ।
दैनिक ४२ हजार बराबरको कारोबार हुने गरेको उद्योग सञ्चालक मनोज बुढाथोकी मगरले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आयातित इट्टाभन्दा सस्तो बलियो हुने भएपछि माग बढेको छ । कमाई पनि राम्रै छ । कामदारहरूले इट्टा उत्पादन ठेक्का लिएर काम गरिरहेका छन् ।”
रङ्गिन इट्टा आयातका लागि जुम्लाबाट वार्षिक करिब २० करोड पुँजी पलायन भइरहेको अनुमान छ । पुँजी पलायन रोक्नुका साथै जुम्लामै रोजगारी बढाएर आम्दानी बढाउने लक्ष्य राखिएको उहाँको भनाई छ ।
मासिक १२ लाखका दरले वर्षमा करिब १२ करोड ४ लाख बराबरको कारोबार हुन्छ । भने, करिब ६० प्रतिशत नाफा हुन्छ ।
कोरोनाले अधिकांश उद्योगपती सङ्कटमा छन् । मलाई त्यति असर परेको छैन । अझै बजार प्रर्बद्धनमा जुटिरहेको छु । रातो इट्टा जुम्लामा विस्थापित गरौँ, स्थानीय स्रोत साधनको प्रयोग गरी पुँजी पलायन रोकेर आम्दानीसँगै रोजगारी बढाउ भन्ने अभियानमा जुटेको समेत उहाँको भनाई छ ।
२६ जनालाई नियमित रोजगारी
दोस्रो लहरको कोरोना संक्रमण रोकथामका लागि जारी लकडाउनका कारण लाखौँ विपन्न नागरिक युवाले रोजगारी गुमाएका छन् ।
सबै उद्योगधन्दा, व्यापार व्यवसाय बन्द भएपछि कामदारहरूको चुलो बल्न समेत मुस्किल भएको अवस्था छ । तर (एम्स मल्टि म्यानुफ्याक्चरिङ कम्पनी)द्वारा सञ्चालित जुम्लाको ईन्टरलक इट्टा उद्योगले २६ जना विपन्न नागरिकलाई कोरोना कहरका बीच पनि नियमित रोजगारी दिइरहेको छ ।
इट्टा उद्योगमा १८ जना, ग्रिल उद्योगमा ४ जना र प्रशासनतर्फ ४ जना गरी २६ जनालाई सिप दक्षता अनुसारको रोजगारी दिइएको उद्योगका सञ्चालन बुढाथोकी मगरले बताउनुभयो ।
उहाँले भन्नुभयो, “निषेधाज्ञामा काम दिँदा स्थानीयले पनि राहत महसुस गरेका छन् । आफ्नो कार्यक्षमता अनुसार कमाइरहेका छन् । घर निर्माण गर्नेहरूले पनि निषेधाज्ञामै सेवा पाउँदा खुसी छन् ।”
कोरोनाले रोजगारी खोसेको थियो । घर खर्च चलाउनै मुस्किल थियो । तर ईन्टरलक इट्टा उद्योगले रोजगारी दिँदा राहत मिलेको उद्योगमा कार्यरतहरू बताउँछन्। नियमित काम पाउँदा कोरोनाको असरको महसुशनै भएको छैन ।
विपन्न नागरिकको राहतका लागि स्वास्थ्य मापदण्ड अपनाएर अन्य उद्योगधन्दा पनि सञ्चालन गर्नुपर्ने कामदारहरूको माग छ ।








प्रतिक्रिया राख्नुहोस्