भारतमा दुई महिनायताकै सबैभन्दा कम दैनिक कोभिड–१९ संक्रमण, मृत्यु सङ्ख्यामा पनि कमी

नयाँ दिल्ली । नयाँ दिल्ली भारतमा विगत २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) बाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ को दोस्रो लहरको मध्यमा दैनिक चार लाखभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो सङ्ख्या विगत दुई महिनायताकै सबैभन्दा कम दैनिक संक्रमण हो ।
भारतमा यो सहित कूल दुई करोड ८८ लाख व्यक्ति कोभिड संक्रमित भएका छन् जसमध्ये दुई करोड ७० लाख सङ्क्रमणमुक्त भएका छन् ।
कोभिड–१९ को दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा विगत २४ घण्टामा थप दुई हजार ६७७ जनाको ज्यान गएको मन्त्रालयको भनाई छ ।
योसहित भारतमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन लाख ४६ हजार ७५९ पुगेको छ ।
भारतमा अझै पनि १४ लाख ७८ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा कूल सक्रिय सङ्क्रमितको सङ्ख्यामा ७७ हजारले कमी आएको छ । विगत केही दिनदेखि सक्रिय सङ्क्रमितको सङ्ख्यामा पनि कमी आउन थालेको मन्त्रालयले जनाएको छ ।
गत जनवरी १६ बाट खोप लगाउन थालेको भारतमा हालसम्म २३ करोड १० लाख डोज खोप लगाइएको छ ।
यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर हालसम्म ३६ करोड ४० लाख नमुना परीक्षण गरेको जनाएको छ ।रासस–सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्