देखिन छाड्यो निकुञ्जमा बाह्रसिङ्गे

चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा राखिएको बाह्रसिङ्गे गत असोज महिनादेखि देखिन छाडेको छ ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्नासँगै रहेका बाह्रसिङ्गे खुल्ला खोरमा नभेटिएको हो । ‘
उहाँले भन्नुभयो “गत असोजदेखि खोरभित्र देखिएको छैन । कतै झाडीमा लुकेको, बाघले खाएको वा खोर बाहिर भागेको भन्ने बारे यकिन हुन नसकेको छैन । ”
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विसं २०७४ मा पाँच पोथी र दुई भाले गरी सात बाह्रसिङ्गे स्थानान्तरण गरी यहाँ ल्याइएको थियो । ती मध्ये दुई पोथी ल्याउने बित्तिकै र अन्य चार विभिन्न कारणले मरिसेका छन् । अर्नासँगै रहेको बाँकी रहेको एक बाह्रसिङ्गे पनि लामो समयदेखि देखिन छाडेको हो ।
तत्कालीन अवस्थामा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यहाँ ५ भाले सहित २५ बाह्रसिङ्गे ल्याउने योजना थियो ।
यहाँ ल्याए लगत्तै बाह्रसिङ्गे मरेपछि थप ल्याउने काम रोकिएको थियो । निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे राखिएको छ ।
सरकारले प्रजाति संरक्षण र विस्तारका लागि वन्यजन्तु स्थानान्तरण गर्दै आएको छ । यहाँ कोसीबाट अर्ना ल्याइएको छ भने यहाँका एकसिङ्गे गैँडा बर्दिया र शुक्लाफाँटा स्थानान्तरण गरिएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्